देश

चिसोबाट बच्न बेँसी झर्दै डोल्पाली

जाजरकोट, कात्तिक १६–चिसो बढ्न थालेपछि डोल्पाका स्थानीयवासीहरु बेँसी झर्न थालेका छन् । दसैं, तिहारजस्ता ठूला पर्व सकिएलगत्तै यी जिल्लाका स्थानीय न्यानो खोज्दै जिल्ला छोड्न थाल्छन् । कर्णालीका जिल्लाहरुमा दिन प्रतिदिन चिसो बढ्दै जाँदा हिमपात हुने सम्भावना पनि रहेको छ । दैनिकजसो चिसो बढ्न थालेपछि हिजोआज घाम प्यारो लाग्न थालेको मुड्केचुला गाउँपालिका(७ का नवराज शाहीले बताए । तल्लो डोल्पाभन्दा माथिल्लो डोल्पाका अधिकांश स्थानीय बेँसी झरिरहेको काइके गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र रोकायले बताए ।

यिनीहरू मंसिर, पुस र माघको तीन महिना जाडो छल्न जाजरकोट, नेपालगन्ज, काठमाडौं, सुर्खेतलगायत स्थानमा जाने गर्छन् । अहिले डोल्पाको जुफाल विमानस्थलमा बेँसी झर्नेको ठूलो भीड रहेको छ । प्रत्येक वर्ष यही समयमा जाडो छल्न बेँसी झर्ने सर्वसाधारणको भीड लाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ ।

कर्णालीवासीको जाडो छल्न झर्ने सहरहरुमध्ये काठमाडौं प्रमुख रोजाइमा पर्छ । यतिखेर जाडो मौसम सरु भएसँगै पाएको फुर्सतमा व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाट र सामान किनमेलका लागि पनि धेरैजसो काठमाडौं जाने गरेका हुन् । जाडो छल्न तराई झरेका डोल्पावासी फागुन लागेपछि घर फर्केर यार्सागुम्बा संकलनतर्फ लाग्छन् ।

हिँउदको मंसिर, पुस र माघमा फुर्सद निकालेर बेंसी झर्ने उपल्लो डोल्पावासी कात्तिकमा हिँउदेबालीका रुपमा रोपिने गहुँ, जौ, उवालगायत अन्नबालीहरु लगाइसक्छन् । केहीले भारी हिमपात हुँदा चिसोले घरबाहिर निस्कन नसक्दा आगो ताप्न कात्तिकमा गुइँठा, दाउराको जोहो गर्दछन् । चिसोमा घट्ट जान नसक्दा खाद्यान्नको समस्या नहोस् भनेर कात्तिकमै कुटानी(पिसानी र किनमेल गर्छन् ।

सरकारी कार्यालय फुर्सदमा
जाडो सयममा धेरैजसो सर्वसाधारण जाडो छल्न तराई झर्ने भएकाले कार्यालयहरुमा कामकाजको चाप कम हुँदा कर्मचारीलाई पनि फुर्सद हुने गरेको छ । उपल्लो डोल्पामा रहेका छ वटा प्रहरी चौकीसमेत सदरमुकाम दुनैमा आइसकेको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए । उपल्लो डोल्पाका तीन वटा स्थानीय तहको कामसमेत सदरमुकाम दुनैमा हुने गर्छ । जाडाभरि जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरु कर्मचारीविहीन हुने गर्छन् ।

कतिपय कार्यालयहरु सहयोगीको भरमा चल्छन् । कर्मचारीहरु जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालयहरु कर्मचारीविहीन हुने गरेका हुन् । कर्मचारी मात्रै नभई जनप्रतिनिधिहरुसमेत जाडो छल्ने बहानामा बाहिरिन्छन् । उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा, तल्लो क्षेत्रका तराईमा आएर स्थायी बसोबास गर्दा भूगोल जिल्लामै दुई क्षेत्रमा विभाजित छ । जिल्लाका उच्च भेगमा बसोबास गर्ने सर्वसाधारण तल्लो क्षेत्रमा भन्दा धेरै चिसो हुने भएकाले छ महिनाको अस्थायी बसोबासका लागि पशु चौपायसहित जाडो छल्न बेँसी झर्ने गर्छन् ।

यतिखेर आर्थिक रुपमा मजबुद भएकाहरु भने काठमाडौं, पोखरा, नेपालगन्जलगायत सहरमा जाने र आर्थिक अवस्था कमजोर सर्वसाधारण चिसो कम हुने ठाउँ खोज्दै तल्लो क्षेत्रमा झर्छन् । यतिखेर उपल्लो क्षेत्रका मान्छेहरुले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बुहरु अन्नबालीहरुसँग साटासाट गरेर आयआर्जन गर्ने गर्छन् ।

डोल्पामा दुई प्रकारको शैक्षिक सत्र लागु हुँदै आएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, से–फोक्सुण्डो, छार्काताङसोङ गाउँपालिकामा पर्ने सम्पूर्ण विद्यालयहरु चिसो समयमा बिदा हुन्छन् । उपल्लो डोल्पाका विद्यालय वैशाख मात्रै खुल्छन् । तल्लो डोल्पाका सम्पूर्ण विद्यालय पुस पहिलो साताभित्र बन्द भएर फागुन पहिलो साता खुल्छन् । (रासस)

Featured