देश

सहारा क्लब पोखराले देउसीभैलो खेलेर ७ लाख ६९ हजार जुटायो

गण्डकी, कात्तिक १६–तिहारमा देउसीभैलो खेलेर सहारा क्लब पोखराले ७ लाख ६९ हजार ४ सय ११ रुपैयाँ संकलन गरेको छ । सहारा एकेडेमीको सहयोगार्थ ५ दिन खेलिएको देउसीभैलोबाट उक्त रकम संकलन भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार क्लबले पोखरा ६, ७, ८, ९, १५, १७ लगायतका वडामा देउसी खेलेको थियो । क्लबद्वारा सञ्चालित एकेडेमीका लागि आर्थिक सहयोग जुटाउन बर्से्नि देउसीभैलो खेल्ने गरिएको अध्यक्ष थापाले बताए । उनका अनुसार गत बर्षभन्दा यो वर्ष करिब अढाई लाख बढी नगद संकलन भएको हो ।

संकलित रकम एकेडेमीमा आश्रित १३ जिल्लाका २५ जना कठिन परिस्थितिका बालकको भरणपोषण र शिक्षाका लागि खर्च गरिने अध्यक्ष थापाले बताए । क्लबको स्थापनाकालदेखि नै यसरी नै देउसीभैलो खेलेर सामाजिक कार्य र खेलकुदका लागि खर्च जुटाउने गरिएको थापाको भनाइ छ ।

क्लबले पोखरामा आयोजना गर्ने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता र देउसीभैलो कार्यक्रमबाट बचत भएको रकम एकेडेमीमा खर्चिदै आएको महासचिव रामजी अधिकारीले बताए । नेपाली कला संस्कृतिको संरक्षण पनि हुने भएकाले देउसीभैलोलाई क्लबले आर्थिक संकलनको माध्यम बनाएको सांस्कृतिक संयोजक बिनु राना मगरले बताइन् ।

Featured