देश

महिनौं अलपत्र पुल ठेकदारले बनाएनन्, सरकार पनि मौन

काठमाडौं, कात्तिक १६–सरकारले मापदण्डविपरीत टेकुको पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाएको वर्ष दिन पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छाडिएको छ। निर्माण सम्पन्न भइसकेको टेकुस्थित विष्णुमती पुल मापदण्डविपरीत निर्माण भएको भन्दै सरकारले करिब नौ महिनाअघि सञ्चालनमा रोक लगाएको थियो । पुलको बीच भागमा पर्खाल लगाएर पुल सञ्चालनमा रोक लगाइएको छ।

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले लापर्बाही गरेर निर्माण गरेका कारण पुल कमजोर भएको र मापदण्डविपरीत निर्माण सामग्री प्रयोग गरिएको भन्दै सडक विभागले पुल प्रयोगमा प्रतिबन्ध लगाएको थियो। जेटआईईसी–पप्पु जेभीद्वारा बनाइएको टेकु पुलमा इन्जिनियर (परामर्शदाता)को निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको थियो।

गत साउनमा डिभिजन कार्यालयले पुनः एक साताभित्र पुल निर्माण सुरु गर्न सूचना जारी गरेको थियो। सरकारको निर्देशन निर्माण कम्पनीले महिनौंसम्म अटेर गर्दै आएको छ भने सरकारले पनि कुनै कारबाही प्रक्रिया अघि नबढाएर छुट दिँदै आएको छ। सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन आग्रह गरिएको बताएको छ। तर, यसरी आग्रह गरिएको नौ महिना नाघिसक्दा पनि काम केही पनि भएको छैन। यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured