विदेश

करतारपुर साहिब मन्दिरमा आउने भारतीय भक्तजनलाई छुट

काठमाडौं, कात्तिक १५–पाकिस्तानमा अवस्थित करतारपुर साहिब मन्दिरमा आउने भारतीय भक्तजनलाई प्रधानमन्त्री इमरान खानले दुई प्रकारका छुट दिने बताएका छन् । पहिलो भारतीय भक्तजनलाई राहदानी आवश्यक पर्ने छैन । यसको सट्टा एक आधिकारिक परिचय पत्र भए पुग्नेछ । दोस्रो उनीहरूले १० दिनअघि रजिस्ट्रेसन पनि गराउनुपर्ने छैन । नोभेम्बर ९ मा हुने करतारपुर करिडोर उद्घाटनका दिन भक्तजनसँग कुनै शुल्क लिइने छैन ।

करतारपुर साहिब दर्नशन गर्न जाने भारतीय भक्तजनसँग करिब २० डलर शुल्क लगाइएको प्रति असहमति व्यक्त गर्दै शिरोमणि अकाली दलका नेता सुखबीर सिंह बादलले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग यसलाई आम्दानीको स्रोत नबनाउन आग्रह गरे । यो शुल्क अत्यन्त चर्को भयो । भारतीय विदेश मन्त्रालयले बिहीबार भनेको छ, ‘पाकिस्तानको निमन्त्रणामा करतारपुर करिडोर उद्घाटनमा जानेहरू भारतीय आधिकारिक समूहका होइनन् । त्यहाँ जानका लागि नियमानुसार राजनीतिक अनुमति लिनुपर्नेछ ।’ मिडिया रिपोर्टसमा भनिएको छ, ‘कंग्रेस नेता नवजोत सिंह सिद्धुले करतारपुर करिडोर उद्घाटनमा इमरान खानको निमन्त्रणा स्वीकार गरेका छन् ।’

‘करतारपुर साहिबको भ्रमण छिमेकी देशको यात्रा हो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताएका छन्, ‘राजनीतिक व्यक्तित्व र पाकिस्तानबाट आमन्त्रितहरूले भ्रमणपूर्व राजनीतिक अनुमति लिनु आवश्यक छ ।’ भारतले उद्घाटन समारोहमा सहभागी हुने केन्द्रीय मन्त्रीहरू र राजनीतिक व्यक्तित्व समेत ४५० र अन्य ३१ व्यक्तिको सूची स्वीकृतिका लागि पाकिस्तान पठाइएको छ । पाकिस्तानले अन्य सूची पनि तयार गर्दै गरेको सूचना प्राप्त भएको जनाइएको छ ।

भारत र पाकिस्तानबीच सम्पन्न सम्झौताअनुसार करतारपुर साहिब मन्दिर दर्शनका लागि दैनिक पाँच हजार भारतीय भक्तजनलाई अनुमति दिइनेछ । दैनिक भास्करका अनुसार उनीहरूलाई पासपोर्ट अनिवार्य भए पनि भिसा भने आवश्यक हुने छैन ।

भारतीय भक्तजनबाट पाकिस्तानले दैनिक एक लाख डलर आम्दानी गर्नेछ । पछिल्लो महिनामा भएको बैठकका क्रममा भारतले भक्तजनबाट उठाइने शुल्कप्रति निराशा व्यक्त गर्दै यसमा पुनर्विचार गर्न भनेको छ । केन्द्रीय मन्त्री हरसिमरत कौरले पनि छिमेकी मुलुकको आस्थामाथि खेलबाड नगर्न भनेका छन् ।

Featured