देश

विद्युत् महसुल बुझाउन पनि सास्ती

दाङ, कात्तिक १५–आइतबार विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा विद्युतको महसुल बुझाउन आएका घोराही(६ का हर्कबहादुर डाँगीले गुनासो गरे, ‘हामीले सरकारलाई पैसा बुझाउँछौँ भन्दा पनि यति सास्ती खेप्नुपर्ने ?’ विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो । ५० रुपैयाँ टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो । १ सय रुपैयाँ विद्युत् महसुल बुझाउन अरु १ सय रुपैयाँ खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै खेर ।

उनी पसलको ढोका बन्द गरेर महसुल बुझाउन आएका हुन् । रकमभन्दा पनि एक महिनाको विद्युत् महसुल बुझाउन एक दिन पूरै खर्च गर्नुपर्दा आफूजस्ता हरेक सेवाग्राहीलाई अन्याय भएको उनले उनले गुनासो गरे । घोराही–१ रामपुरबाट विद्युत् महसुल बुझाउन आएकी हरिमाया केसीको व्यथा पनि उस्तै थियो । गाडी चढेर १२ बजे कार्यालयमा आएकी उनले ३ बजे मात्रै पालो पाइन् । तीन घण्टा लाइनमा बस्दा निकै थाकेको उनले बताइन् ।

बंगलाचुलीबाट विद्युत् महसुल तिर्न आएका रुद्रबहादुर घर्तीको समस्या पनप कम थिएन । किनमेलका लागि परिवारसहित घोराही आएका उनलाई दिनभरि महसुल बुझाउने लाइनमा बस्नुर्पयो । दिनभरि लाइनमा बस्नुभन्दा दोब्बर पैसा बुझाउन राजी भएको उनले बताए । विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घोराही उपमहानगर र बंगलाचुली गाउँपालिकाका गरी करिब ३६ हजार ग्राहक छन् ।

ग्राहक संख्याको आधारमा भन्दा पनि प्रत्येक दिन विद्युत् कार्यालयमा १ हजार २ सयभन्दा बढी ग्राहक महसुल बुझाउन आइपुग्छन् । कार्यालयमा विद्युत् बुझाउने काउन्टर भने दुई वटा मात्रै छन् । यसले गर्दा महसुल तिर्नेको भीडभाड हिजोआज सधैँजसो हुने गरेको सेवाग्राही बताउँछन् । काउन्टरदेखि निकै परसम्म महिला–पुरुष छुट्टाछुट्टै लाइन लागेका हुन्छन् । कार्यालयले दुई महिनाभन्दा बढी समय विद्युत् नबुझाउनेको फटाफट लाइन काट्ने अभियान थालेको हुँदा भीड बढेको हुन सक्ने जनाइएको छ ।

विद्युत् कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म समयमा विद्युत् नतिर्ने घोराही १४ र १५ नं वडाका करिब तीन दर्जन ग्राहकको लाइन काटिसकेको छ । कार्यालयका सूचना अधिकृत बमबहादुर बुढाथोकीले अब अभियानअन्तर्गत नियमित महसुल नबुझाउनेको लाइन काट्न सुरु गरिसकेको हुँदा महसुल बुझाउन छुटेकाहरु पनि तिर्न आउने क्रम बढेको बताए ।

यस्तै विद्युत् कार्यालयमा बढेको भीडको परिणाम पनि लाइन काट्ने अभियान भएको उनले बताए । ‘अब कार्यालयले मासिक विद्युत् महसुल बुझाउनुपर्ने र दुई महिनाभन्दा बढी समय महसुल नबुझाए लाइन काट्ने अभियान थालेपछि भीड बढेको हो,’ उनले भने, “हामीले नियमित विद्युत् नबुझाउनेलाई कारबाहीको दायरामा ल्याउन थालेपछि सेवाग्राही आउन थालेका छन् ।’

केही समय अगाडिसम्म चार काउन्टरबाट विद्युत् महसुल उठाइरहेको कार्यालयमा अहिले दुई काउन्टर बन्द भएका छन् भने दुईबाट मात्र सेवा प्रवाह भइरहेको छ । सूचना अधिकृत बुढाथोकीका अनुसार एक कर्मचारीको सरुवा भएको र अर्का एक बिरामी हुनाले बाध्यताबस दुई काउन्टर बन्द गर्नुपरेको बताए । पछिल्लो समय विद्युत् कार्यालयले कम्प्युटर प्रणालीमार्फत विद्युत् महसुल काट्ने र बुझ्ने गर्न थालेपछि काउन्टरमा तालिमप्राप्त कर्मचारीले मात्रै काम गर्न सक्ने अवस्था छ । अहिले विद्युत् कार्यालयमा ५६ कर्मचारी कार्यरत छन् । (रासस)

Featured