देश राजनीति

उपनिर्वाचनः गाउँपालिका अध्यक्षमा नेकपाका सात, कांग्रेसका १० प्रत्यासी

संखुवासभा, कात्तिक १५–१४ मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि मकालु गाउँपालिका अध्यक्ष लागि नेकपा र कांग्रेस दुवै दलले उम्मेदवारको नाम सिफारिश गरेका छन् । नेकपाले सात जना र कांग्रेसले १० जनाको नाम सिफारिश गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा मकालु गाउँ कमिटीले अध्यक्ष पदका लागि सात जनाको नाम गरेको जनाएको छ । बुधबार बसेको गाउँ कमिटीको बैठकले मकालुबाट सात जनाको नाम सिफारिश गरेको गाउँ कमिटी अध्यक्ष लक्ष्मण राई (रघु) ले जानकारी दिए ।

गाउँ कमिटीबाट भरत कटुवाल, तेजबहादुर पोख्रेल, ललिता पोख्रेल, ताराकुमार राई, ज्ञानेन्द्र गुरुङ, लालबहादुर तामाङ र प्रेमबहादुर राईको नाम सिफारिश गरेको गाउँ कमिटी अध्यक्ष लक्ष्मण राईले जानकारी दिए । गाउँ कमिटीले सिफारिश गरेका सातै जनाको नाम जिल्ला पठाइएको अध्यक्ष राईले बताए । उम्मेदवारका दाबी गर्दै आएका भरत कुटवाल स्वर्गीय खड्ग कटुवालका भाइ हुन् ।

सिफारिश भएका नामलाई बिहीबार बस्ने जिल्ला कमिटीको बैठकमा छलफल हुने नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए । नेपाली कांग्रेसले पनि गाउँपालिका अध्यक्ष पदका लागि १० जनाको नाम सिफारिश गरेको गाउँ कमिटीले जनाएको छ । कांग्रेसभित्र १० जना उम्मेदवारका आंकाक्षीहरू नाम आएको नेपाली कांग्रेसका कार्यालय सचिव उमेश श्रेष्ठले जानकारी दिए ।

मकालुमा कांग्रेसका राईबहादुर राई, काजीमान गुरुङ, देउमान राई र विमल पराजुलीसहित १० जनाको नाम आएको कार्यालय सचिव श्रेष्ठले बताए । राईबहादुर राई अघिल्लो निर्वाचनमा पराजित उम्मेदवार हुन् । मकालु गाउँपालिकामा नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मकालुमा ९ हजार १ मतदाता छन् ।

Featured