देश शिक्षा

सीएमसीले शुल्क समायोजन गर्ने

चितवन, कात्तिक १५–चितवन मेडिकल कलेज (सीएमसी)ले विद्यार्थीबाट बढी उठाइएको शुल्क समायोजन गर्ने भएको छ । तर विद्यार्थीले भनेजस्तो गरी शुल्क फिर्ता गर्न भने नसक्ने सीएमसीले जनाएको छ । अस्पतालमा पत्रकार सम्मेलन गर्दै कलेजका अध्यक्ष प्राडा. हरिश्चन्द्र न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा भएको त्रिपक्षीय सहमति अनुसार गत शैक्षिक सत्रमा विद्यार्थीबाट उठाइएको बढी शुल्क प्रक्रिया पूरा गरेर समायोजन गरिने बताए ।

विद्यार्थीबाट सहमतिको पालना नभएको र गठित समितिले प्रतिवेदन बुझाउन नसकेको भन्दै न्यौपानेले कलेज भने सहमतिअनुसार अघि बढ्ने दाबी गरे । चितवन मेडिकल कलेजले सरकारबाट स्वीकृत भएको ४२ लाख ४५ हजार रुपैयाँका अलावा चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने शुल्क २ हजार ५ सय, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इन्टर्न्सिप शुल्क, आन्तरिक परीक्षा शुल्क, छात्रावास शुल्क र खानाको रकम कटाएर बाँकी समायोजन गर्ने जनाएको छ ।

डा. न्यौपानेले कलेजले विद्यार्थीबाट सरकारले तोकेको भन्दा ६ लाख रुपैयाँ बढी शुल्क लिएको स्वीकार गरे । तर, बढी शल्क लिन आइओएमले स्वीकृति दिएको उनको दाबी छ । पत्रकार सम्मेलनमा डा न्यौपानेले चितवन मेडिकल कलेजलाई ताछेर पातलो बनाउँदै आफ्ना अभिष्ट पूरा गर्नेहरू सक्रिय भइरहेको भन्दै गुनासो पनि गरे । कहिले विरामीको उपचारका सवालमा र कहिले शुल्कका विषयमा अनावश्यक रूपमा सीएमसीलाई मात्रै मुछेर बदनाम गर्ने प्रयास गरिएको भन्दै उनले सबैको सहयोग नभए स्वास्थ्य क्षेत्रको सुधार गर्न नसकिने पनि बताए ।

Featured