देश

कोठामै नपुगी फसाउन खोजियो :महरा

काठमाडौं, कात्तिक १५–पूर्वसभामुख कृष्णबहादुर महराले जर्वजस्ती करणी अभियोग अस्वीकार गरेका छन् । जिल्ला अदालत काठमाडौंको बन्द इजलासमा वयान दिदै उनले अभियोग अस्वीकार गरेका हुन् । यसअघि सरकारी वकिलसँग पनि उनले यही आशयको बयान दिएका थिए । आफु विरुद्ध जाहेरी दिएकी महिलाको कोठा छेउमा पुगेपनि आफु कोठामा प्रवेश नै नगरी फर्किएको उनको वयानमा उल्लेख छ ।

जिल्ला अदालत श्रोतले दिएको जानकारी अनुसार वयानमा महराले पीडित भनिएकी महिलाले आफुलाई अभिभावक मान्ने गरेको र उनको विवाहमा समेत आफुले सोही अनुसारको भुमिका निर्वाह गरेको बताएका छन् । इजलासमा भएको सवाल जवाफमा महराले पीडित महिला (रोशनी) सँग आफ्नो भेट भने पटक पटक हुने गरेको बताएका छन् ।

वयानमा महराले पीडित भनिएकी महिला सरुवाको केसमा भने आफुसँग रुष्ट रहेको बताएका छन् । महिलामा स्वास्थ्य समस्या रहेको आफुले थाहा पाएको बताएका महराले घटना भएको दिन आफु छोराको गाडी लिएर पीडित महिलाको घर छेउ पुगेपनि मोवाइल सम्पर्कमा नआएपछि फर्किएको वयान दिएका छन् ।

वयानमा घटनास्थलमा भेटिएको भनिएको जुत्ताको तलुवा र चश्मा आफ्नो नभएको बताएका छन् । कसैले फसाउने नियतले कोठामा लगेर राखेको हुनसक्ने आशंका भने महराको साविती वयानमा उल्लेख छ । महराको बयानपछि अव इजलासमा महराका पक्षका र सरकारी वकिलले थुनछेकको बहस गर्नेछन् ।

Featured