काठमाडौं, कात्तिक १५–संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बयान नसकिएकाले आज पनि थुनामै रहने भएका छन् । काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतमा महराको बयान थियो । बयान नसकिएपछि अब न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस आइतबार मात्रै सुरु हुने छ । भोलि शनिवार भएकाले थुनछेक बहस आइतबारका लागि सरेको हो ।
सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध बलात्कार प्रयास गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रहरीले महरालाई पक्राउ गरेको थियो । थुनछेक बहसपछि महरालाई धरौटीमा रिहा गर्ने, पूर्पक्षका लागि कारागार चलान गर्ने वा साधारण तारेखमा छाड्नेबारे अदालतले फैसला गर्ने छ ।
प्रतिक्रिया दिनुहोस