विदेश

बग्दादी मारिएको पुष्टि गर्दै आईएसले घोषणा गर्यो नयाँ नेता

एजेन्सी, कात्तिक १५–चरमपन्थी समूह इस्लामिक स्टेट आईएसले नयाँ नेता घोषणा गरेको छ । स्थापनाकालदेखि नै आईएसलाई नेतृत्व गर्दै आएका अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै आइएसले नयाँ नेता घोषणा गरेको हो ।

आईएस निकट समाचार एजेन्सी अमाकले सार्वजनिक गरेको एउटा अडियो टेपअनुसार अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित भएका छन् । बग्दादी गत शनिबार सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा तीन सन्तानसहित मारिएका थिए ।

यसैगरी अर्को कारबाहीमा २७ अक्टोबरमा आइएसका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको आईएसले जनाएको छ । आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेको थियो । सोही समयदेखि अल–बग्दादीले आईएसको नेतृत्व गर्दै आएका थिए ।

नयाँ नेता हाशेमी अन्तर्रा्ष्ट्रिय सुरक्षा फौजहरूका लागि परिचित नाम नभएर लडाइँको प्रयोजनका लागि कतिपय लडाकुले राख्ने नाम हुन सक्ने अनुमान गरिएको छ ।आईएसले आफ्ना नयाँ नेताबारे विस्तृत विवरण र तस्बिर समेत सार्वजनिक गरेको छैन । यद्यपि उसले नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ।

आईएसका नेता अल–बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे । सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतंकवादी घोषणा गर्दै पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।

Featured