देश शिक्षा

२०१६ सालमा स्थापित पोखरी माविको ऐतिहासिक भवन जीर्ण

तेह्रथुम, कात्तिक १५–तेह्रथुमको साविक छातेढुंगा गाविस( ४ र हालको आठराई गाउँपालिका( ५ मा वि.सं. २०१६ सालमा स्थापना भएको पोखरी माध्यामिक विद्यालयको ऐतिहासिक भवन जीर्ण भएको छ ।

ऐतिहासिक भवनको मर्मतसहार नहुदा प्रयोगविहीन बन्दै गएपछि स्थानीय चिन्तित बनेका छन् । २०१८ सालमा पहिलोपटक एसएलसी परीक्षामा सामेल भएको यो विद्यालयले नियमित रुपमा यस क्षेत्रकै एसएलसी तथा ११ र १२ कक्षाको परीक्षा केन्द्रको रुपमा आफ्नो सफल भूमिका निभाउँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, चिकित्साशास्त्रका प्राडा रामप्रसाद उप्रेती, प्राडा लय उप्रेती, प्राडा कृष्ण वली लगायतकाले अध्ययन गरेको यस विद्यालयबाट हालसम्ममा हजारौले शिक्षा हासिल गरिसकेका छन् ।

तीमध्ये उल्लेख्य संख्यामा राज्यका माथिल्लो ओहोदामा पुग्दा पनि सो विद्यालयको जीर्ण भवन पुनर्निर्माण हुन नसक्नु दुःखद् भएको स्थानीय बताउँछन् । २०४५ सालको भूकम्पले केही क्षति पुगे पनि २०७२ को भूकम्पले भने विद्यालयमा नराम्ररी क्षति पुर्याएको छ । भूईतला केही बलियोजस्तो देखिए पनि माथिल्लो तला भने पूर्ण रुपमा भत्किएकोे छ ।

कक्षाकोठाको अभावमा केही वर्ष सोही जीर्ण भवनमा पठनपाठन भए पनि जिल्ला प्रशासन तथा जिल्ला शिक्षा कार्यालायले सम्भावित खतरालाई मध्यनजर गर्दै भवन प्रयोग नगर्न परिपत्र गरेपछि पछिल्लो समय प्रयोगविहिन बनेको विद्यालयका सहायक प्रधानाध्यापक महेश कन्दंगवाले बताए ।

यता विद्यालयको भवनलाई बनाउन आफूहरु लागिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रदेश सांसद तेजमान कन्दंगवाले बताए । आठराईकै गरिमासँग जोडिएको हुनाले जीर्ण भवनको मर्मत् हुनुपर्ने स्थानीयको माग छ ।

Featured