देश राजनीति

कांग्रेसले पदाधिकारी बैठकबाटै उम्मेदवार टुंगो लगाउने

काठमाडौं, कात्तिक १४–नेपाली कांग्रेसले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो आइतबार मात्र लगाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा विहीबार बोलाएको पदाधिकारी बैठकमा उम्मेदवारको अन्तिम टुंगो आइतबारसम्म लगाउने निर्णय गरेको हो । विहिबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार मात्र बस्ने भएको छ ।

संघीय संसदको लागि एक, प्रदेश सभाको लागि तीन र स्थानीय तहका एक प्रमुख, तीन अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षको लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

३७ जिल्लामा हुने उपनिर्वाचनमा उम्मेदवारको सिफारिस गर्न पार्टी केन्द्रले बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि सबैले धेरै उम्मेदवारको नाम सिफारिस गरेपछि कांग्रेसलाई आधिकारिक उम्मेदवार छनोट गर्न सकस परेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले १७ कात्तिकको साँझ पदाधिकारी वा केन्द्रीय कमिटी बैठकबाट उम्मेदवार छनोटको अन्तिम टुङ्गो लाग्ने बताए । बरिष्ठ नेता रामचन्द्र पौडेलले १६ कात्तिकमा गृह जिल्ला तनहुँमा कास्की र बाग्लुङका नेताहरुसँग थप राय लिने भएका छन् ।

गाउँपालिका र नगरपालिकाको वडाका प्रायः उम्मेदवारको चयन जिल्ला कार्यसमितिले नै गरिसकेको प्रवक्ता शर्माले बताए । धरान उप–महानगरपालिकाको हकमा धरानको नगर कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कार्यसमितिले तिलक राईको मात्र नाम सिफारिस गरेको छ । कास्कीमा प्रतिनिधिसभा सदस्य, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेश सभासदका लागि हुने निर्वाचनमा कांग्रेसको उम्मेदवारको छनोट भने पार्टी पदाधिकारी बैठकले निर्णय लिने भएको छ ।

कांग्रेसको तर्फबाट उम्मेदवार छनोट गर्ने वैधानिक निकाय संसदीय समिति गठन नै भएको छैन । त्यसैले पदाधिकारी बैठकबाटै उम्मेदवार टुंगो लगाउने भएको हो । शुक्रबार दिउँसो बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारी छनोटका विषयमा पार्टी पदाधिकारीसहित वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको सहमतिमा नीतिगत निर्णय लिने स्रोतले जनायो ।

विहिबार बसेको बसेको पदाधिकारीको बैठकमा पहिलो चरणमा उपनिर्वाचन हुने जिल्ला वा क्षेत्रमा काँग्रेसको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरेको थियो । पार्टीले प्रतिनिधिहरुसँग पार्टीको संगठनात्मक अवस्था, प्रतिस्पर्धीको अवस्था, अन्य दलसँगको सहकार्य र माहोल निर्माण गर्न सक्ने उम्मेदवारका विषयमा केन्द्रीत भएर छलफल चलाएको थियो । प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६, प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बाग्लुङबाट ४ जनाको सिफारिस केन्द्रीय कार्यालयमा आएको छ ।

Featured