देश

जनकपुरमा छठ रौनकः मदिरा र मासुमा रोक

जनकपुर, कात्तिक १४–छठ पर्वलाई लक्षित गरेर जनकपुरधामको परिक्रमा सडक भित्र मदिरा र मासु सेवनमा रोक लगाइएको छ । १५ कातिक देखि १७ गतेसम्म माछा मासु र मदिरा बिक्री, सेवन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरेको छ ।

जनकपुरधाम नगरको परिक्रमा सडक भित्र प्रमुख मन्दिरहरु रहेकाले धार्मिक पर्यटनमा असर पार्ने भन्दै माछा मासु र मदिरा बिक्री, सेवन र कारोवारमा रोक लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

अवहेलना गरे कारवाही गरिने सूचनामा उल्लेख छ । छठ र रामजानकी विवाहपञ्चमीका वेला प्रत्येक वर्ष यसप्रकारको माछा मासु र मदिरा बिक्री, सेवन र कारोवारमा रोक लगाउने गरिन्छ ।

जनकपुरधाम आउन अधिकांश धार्मिक पर्यटक नै रहेकाले यसले व्यवसायमा कुनै असर नपर्ने होटल व्यवसायी अशोक जलानले वताए । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिने परम्परा छ ।

Featured