देश विदेश

नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित

विराटनगर, कात्तिक १४–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल भारतबीचको सम्बन्धलाई नयाँ स्तरबाट विकसित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाल भारत मैत्री युवा संघ र इन्डो नेपाल मिथिलांचल जागृति मंचले विराटनगर भन्सारक्षेत्रमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाल तथा भारतका मन्त्री, सांसद र विधायकलाई सहभागि गराएर आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको चर्चा गर्दै खुला सिमानाका नेपालीहरुले लागुऔषधको ओसारपसार र दुब्र्यसनको समस्या झेल्नु परेको बताए उनले नेपालतर्फबाट आतंकबादी पस्ने भय भारतलाई समेत रहने गरेको बताए ।

यसप्रकार समस्या समाधान गर्न पनि सिमाना ब्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । सिमाना ब्यवस्थापनका बिषयमा मन्त्री पण्डितले जोड दिएपनि त्यसको मोडालिटि भने खुलाएनन् । उनले प्रबुद्धवर्गले तयार पारेको इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउन आवश्यक पहलगर्न समेत भारतीय जनप्रतिनिधिलाई आग्रह गरे ।

मन्त्री पण्डितले बोल्नुअघि बोल्लेका समाजबादी पार्टीका नेताहरु जयराम यादव र राजकुमार यादवले जारी भएको संबिधानमा सबैपक्षको हकअधिकार नसमेटिएको गुनासो गरेपछि प्रत्युउत्तरमा जवाफ दिँदै मन्त्री पण्डितले आवश्यकता अनुसार संबिधान संशोधन हुने बताए । हिन्दीमा भाषण गरेका मन्त्री पण्डितले भारतमै समेत पटकपटक संबिधान संशोधन भएको तर्क गर्दै आवश्यकता अनुसार नेपालमा पनि संशोधन हुने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की र जयराम यादवले नेपाल भारत सम्बन्ध उदाहरणिय रहेको चित्रण गर्दै दुवै देशको पहलमा लागु औषधको कारोेबार नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा भारत अररियाका सांसद प्रदिप कुमार सिंहले केही वाहिी तत्वले नेपाल भारतबिच कटुता पैदा गर्न लागि परेको आरोप लगाए ।

भारतीय शहर फारविसगञ्जका बिधायक मंचन केशरीले नेपाल भारतबीचको खुला सिमाना मित्रताको अभुतपुर्व उदाहरण रहेको बताए । उनले सिमाक्षेत्रमा हुने लागुऔषधको खुला कारोबार तत्काल रोक्न आवश्यक पहल गर्ने आश्वासन समेत दिए । कार्यक्रममा पर्यटन ब्यवसायी भविषकुमार श्रेष्ठले नेपाल तर्फ अध्यागमन विभाग रहेपनि जोगबनी क्षेत्रमा भारत सरकारले विभाग नराखेका कारण पर्यटकहरुले समस्या झेल्नुपरेको बताए ।

आपसी सम्बन्धलाई समुधुर बनाउन र सिमाक्षेत्रमा देखिएको समस्याहरु समाधानगर्न सहजहोस भन्ने उद्धेश्यले कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुलले जानकारी दिए । कार्यक्रममा भारत अरअरिया जिल्लाका सांसद प्रदिपकुमार सिंह, विधायक विद्यासागर केशरी, नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीको समेत उपस्थिती रहेको थियो ।

Featured