देश

कर्णालीमा पर्यटन प्रवर्द्धनका १० योजना, ४६ करोड बजेट विनियोजन

सुर्खेत, कात्तिक १४–कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्द्धन लागि आर्थिक वर्ष ०७६र७७ भित्र विभिन्न कार्यक्रम सञ्चालन गर्न ४६ करोड ९० लाख बजेट विनियोजन गरेको छ । सो रकमले पर्यटकीय क्षेत्रहरुमा पदमार्ग तथा भौतिक पूर्वाधार निर्माण एवं सो स्थलहरुको प्रचारप्रसार गर्ने सरकारको योजना छ ।

उक्त बजेटले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन दश वटा योजनाहरु समेटेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशका दश जिल्लाका १५ स्थानमा हेलिप्याड निर्माण गर्न १ करोड ५० लाख विनियोजन भएको छ । त्यसैगरी पर्यटकीय पदमार्ग निर्माणका लागि ११ करोड ४० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । सो रकमले कर्णालीका १० जिल्लामा ४३ वटा पदमार्ग निमार्ण गर्ने सरकारको योजना रहेको छ । ३५ वटा पर्यटन सडकका लागि १५ करोड रुपैयाँ विनियोजन भएको रोकायले जानकारी दिए ।

त्यस्तै पर्यटकीय महत्वका धार्मिक तथा ऐतिहासिक स्थलहरुको जीर्णोद्वार र सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि ८ करोड छुट्टयाइएको छ । सरकारको योजनाअनुसार यो बजेट कर्णालीका १० जिल्लाअन्तर्गत विभिन्न स्थानमा रहेका ३५ वटा धार्मिक एवं ऐतिहासिक महत्वका स्थानका लागि खर्च गरिनेछ । सुर्खेत, सल्यान, दैलेख र कालीकोट गरी चार जिल्लामा ९ वटा पार्क तथा स्वागतद्वार निर्माण गर्ने पनि सरकारको योजना छ । यसका लागि ३ करोड रुपैयाँ छुट्टयाइएको छ ।

यसका साथै कर्णालीका सबै जिल्लामा ६ करोडको लगानीमा २२ वटा होमस्टे तथा सामुदायिक लज निर्माणको तयारी सरकारले गरेको छ । त्यस्तै प्रदेशको पर्यटन प्रवर्द्धन लागि विभिन्न २० वटा कार्यक्रम गर्न १ करोड रुपैयाँ बजेट विनियोजन भएको सूचना अधिकारी रोकायले जानकारी दिए ।

सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रमको लागिसमेत सरकारले १ करोड बजेट छुट्टयाइएको छ । यस्तो कार्यक्रम प्रदेशका सबै जिल्लामा १४ पटक गर्ने सरकारको योजना छ । पर्यटनलाई प्रवर्द्धन गर्नको लागि प्रचारप्रसारको समेत आवश्यक पर्ने भएकाले सो बजेटबाट त्यस्ता कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

Featured