खेलकुद विदेश

स्पेनिस ला लिगा :फराकिलो जितसँगै रियल लिगको दोस्रो स्थानमा

एजेन्सी, कात्तिक १४–स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले फराकिलो जित निकाल्दै अंक तालिकामा बार्सिलोनासँगको अन्तर घटाएको छ। बुधबार राति भएको खेलमा रियलले लेगानेसलाई ५-० गोलको फराकिलो अन्तरले हराएको हो । जितसँगै लिगको दोस्रो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्साभन्दा एक अंकले मात्र पछाडि परेको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रीगो, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिकले एक एक गोल गरे । सान्टियागो बेर्नाबेउमा एकतर्फी जित निकाल्ने क्रममा रियलले सातौं मिनेटमा रोड्रीगोको गोलबाट अग्रता बनाएको थियो । आठौं मिनेटमा क्रुसले गोल गर्दा रियल २-० ले अघि रह्यो ।

२४ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा रियल ३र० ले अघि रह्यो । ६९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जोभिकले गोल गर्दा रियल ५-० ले बिजयी भयो ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी १ अंकमा घटाएको छ । दोस्रो स्थानको रियलले १० खेलमा २१ अंक जोडेको छ । बार्सिलोनाको २२ अंक छ । लेगानेस ५ अंक जोडेर पुछारमा रहेको छ ।

Featured