देश

अस्पतालमा प्रधानमन्त्री, आइसियूमा राखेर उपचार

काठमाडौं, कात्तिक १४–प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार नियमित जाँच गरिएको छ। केही असहज महसुस भएपछि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा बुधबार बिहान पुगेका प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर उपचार गरिएको हो। नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिए। ‘उहाँको स्वास्थ्य सामान्य छ। नियमित जाँचका लागि अस्पताल जानुभएको हो’, अर्यालले भने।

ज्वरो आएको, टाउको पनि दुखेका कारण प्रधानमन्त्री ओलीलाई आइसियूमा राखिएको हो। प्रधानमन्त्रीको उपचारमा उनका निजी चिकित्सक डा. दिव्या सिंह शाह पनि सहभागी छिन्। प्रधानमन्त्री ओली पछिल्लोपटक भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यहाँ प्लाज्माफेरेसिस गराई उनी भदौ २० गते स्वदेश फर्किएका थिए।

त्यसयता नियमित भेटघाट र काममा सक्रिय प्रधानमन्त्री ओलीलाई केही दिनदेखि भेटघाट कम गर्न चिकित्सकले सल्लाह दिएका थिए। स्वास्थ्यकै कारण प्रधानमन्त्री ओली मंगलबार नेवार समुदायले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी भएनन्। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured