देश

१५ शैयाको दिङ्ला अस्पताल प्रयोगविहीन

भोजपुर, कात्तिक १४–षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ। अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन्।

दुई करोड ४५ लाख १७ हजार १५८ रुपैयाँको लागतमा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण सम्पन्न गरेको सो अस्पताल भवनको संरक्षण हुन नसक्दा अहिले भत्किन थालेको छ। संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि रहेको गेटको पिलर र दक्षिण भागमा रहेको बाहिरी पर्खाल भत्किएको छ। भारतीय राजदूतावासका प्रतिनिधि वेदप्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरपालिकाका प्रमुख वीरबल राईलाई विसं २०७५ मङ्सिर २८ गते भवनको ताला, चाबी जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागाईँले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured