देश

ज्ञानेन्द्र मल्ल :गल्ली क्रिकेटदेखि कप्तानसम्मको यात्रा

काठमाडौं, कात्तिक १४–राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्। ज्ञानेन्द्रको अनुभव, क्षमता र निरन्तरतालाई ध्यानमा राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार उनलाई राष्ट्रिय टोलीको कप्तान बनाउने निर्णय गरेको हो। उनले झन्डै एक दशकदेखि राष्ट्रिय टोलीमा उपकप्तानको भूमिका निर्वाह गर्दै अएका थिए।

असोज २८ गते पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। करिब एक दशक कप्तानको जिम्मेवारी निर्वाह गरेका पारसले सुरुमा सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको सार्वजनिक गरे पनि गत आइतबार मात्र क्यानलाई इमेलमार्फत राजीनामापत्र बुझाएका थिए।

आधिकारिक रूपमा पारसको राजीनामा प्राप्त गरेपछि नै क्यानले ज्ञानेन्द्रलाई नयाँ कप्तानको रूपमा चयन गरेको हो। अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानमाथि लगाएको निलम्बन फुकुवा गरेको एक दिनपछि नै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तीन वर्षभन्दा लामो समयदेखि नेपाली क्रिकेटमाथि लगाउँदै आएको निलम्बन आईसीसीले असोज २७ गते फुकुवा गरेको थियो।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले २९ वर्षीय ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको बताए। ‘लामो समय राष्ट्रिय टिम नेतृत्वविहीन हुनु राम्रो नभएकाले क्यानले तत्कालका लागि ज्ञानेन्द्रलाई जिम्मेवारी दिने निर्णय लिएको हो’, सचिव प्याकुरेलले भने। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured