देश राजनीति

उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, कात्तिक १३–नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाउन पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुंगो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बिहीबार बिहान बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा पनि छलफल हुनेछ ।

पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै कात्तिक ७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

Featured