खेलकुद देश

रित गौतमले भारतविरूद्ध यु–१९ क्रिकेट टिमको कप्तानी गर्ने

काठमाडौं, कात्तिक १३–ओपनर ब्याट्सम्यान रित गौतम यु–१९ राष्ट्रिय टिमको नयाँ कप्तान बनेका छन् । भारतमा हुने यु–१९ च्यालेन्जर सिरिजमा रितलाई कप्तानको भूमिका दिइएको हो । भारतको हैदरावादमा २५ कार्तिकदेखि १ मंसिरसम्म चल्ने प्रतियोगितामा भारतको ३ टिमसँगै नेपालको यु–१९ टोलीले प्रतिस्पर्धा गर्दैछ । भारतको आधिकारिक यु–१९ प्रतियोगिता समेत रहेको सो प्रतियोगितामा रातो, निलो र पहेंलो गरि भारतका ३ टिमको सहभागीता रहनेछ । भारतका शीर्ष यु–१९ खेलाडीको यस प्रतियोगितामा सहभागीता रहनेछ ।

लिग चरणका शीर्ष दुई टिम फाइनल पुग्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले कार्तिक २५ गते पहेंलो, २७ गते रातो र २९ गते निलो टिमसँग प्रतिस्पर्धा गर्ने छ । फाइनल तथा तेस्रो स्थानका लागि १ मंसिरमा भिडन्त हुनेछ ।

सो प्रतियोगितामा सहभागी हुन रितको कप्तानीमा १६ खेलाडी तथा ४ वैकल्पिक गरि २० खेलाडी सम्मिलित टिम घोषणा भएको छ । टिममा परेका अधिकांश खेलाडी यसअघि नै यू–१९ टिमबाट खेलिसकेका छन् । राष्ट्रिय टिममा परिसकेका रोहितकुमार पौडेल, सन्दीप जोरालगायतका खेलाडीलाई भने टिममा समावेश गरिएको छैन । टिमको छनोट समितिमा राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक जगत टमाटा, यु–१९ प्रशिक्षक विनोद दास र छनोटकर्ता राजु खड्का रहेका छन् । नेपाली टिम कार्तिक २३ गते हैदरावाद प्रस्थान गर्नेछ ।

Featured