देश

बाबुछोरा मिलेर हत्या, प्रमाण लुकाउन ठाँउ फेर्दै शव गाड्दै

जनकपुर, कात्तिक १३–कञ्चनरुप नगरपालिका–५, सप्तरीका २३ वर्षीय अजय मुखिया गत १ कात्तिक देखि वेपत्ता थिए । मुखिया वुवा जनक मुखियाले कञ्चनरुप नगरपालिका–५ का ३६ वर्षीय श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा बिजय सरदारसहित ५ जनाले घरबाट छोरालाई बोलाएर लगेको र त्यसपछि वेपत्ता भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिए ।

सोही जाहेरीको आधारमा प्रहरीले अजयको खोजी थाल्यो । उदयपुरको कटारीबाट ९ कात्तिकमा श्रीलाल सरदार पक्राउ परे । उनकै बयानका आधारमा प्रहरीले १० कात्तिकमा छोरा बिजयलाई पनि घरवाटै पक्राउ गर्यो । बाबु छोराले शुरुमा बँदेलको सिकार खेल्न गाउँ नजिकैको जंगलमा गएका बेला करेन्ट लागेर अजयको मृत्यु भएको बताए । बाबु छोराले बँदेल मार्ने योजना अनुरुप जंगल छेउकै धानखेतमा बिजुलीको उपकरण मार्फत करेन्टको बार लगाइएको र त्यसमा बदेलको सट्टा अजय नै परेको बयान दिए ।

सुरुमा श्रीलाल सरदारले घटना लुकाउन अजयको शव कञ्चनरुप नगरपालिका–५ स्थित त्रियुगा नदीको किनारमा बालुवामा गाडेको बताएका थिए । उनको बयानका आधारमा प्रहरीले घटनास्थलमा खानतलासी गर्यो । प्रहरीले उत्खननपछि सो स्थानमा अजयको लुगा मात्र फेला पार्योे । त्यसपछि प्रहरीले श्रीलालका छोरा बिजयलाई छुट्टै राखेर केरकार गरेपछि थप रहस्य खुल्दै गयो । बिजयले सुरुमा अजयको शव बुवा श्रीलालले बताएकै ठाउँमा गाडेपनि १ फिट मात्र खनिएर गाडिएकाले गन्हाउने र प्रहरीले चाल पाउने भन्दै भोलिपल्टै झिकेर ५ किलोमिटर टाढा त्रियुगा नदीकै किनारमा १० फिट गहिरो खाडल खनेर पुनः गाडेको बयान दिए ।

बिजयको बयानको आधारमा मंगलबार त्रियुगा पुगेको प्रहरीको टोलीले सो ठाउँको उत्खनन गर्दा अजयको शव फेला पार्यो । सरदार बाबु छोरालाई बुधबार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईले शव पोष्टमार्टम गर्न धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए ।

उनले शवको प्रकृति हेर्दा हत्या गरी गाडेको देखिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यकिनका साथ भन्न सकिने अवस्था रहेको बताए । ‘अजयको शव लुकाउने प्रयास तथा घटना पछि सवै फरार हुनुले हत्या नै गरेको देखिन्छ,’ एसपी प्रसाईले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि सवै सत्यतथ्य बाहिर ल्याउने छौं । ’ यो घटनामा अन्य ३ जनाको संलग्नता रहेको खुलेको तर उनीहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

Featured