देश

‘भीआईपी जुवाडे’लाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं, कात्तिक १३–दुई करोड ६७ लाखभन्दा बढी रकमसहित कुकुर तिहारको दिन जुवा खालबाट पक्राउ परेका २५ जना हाइप्रोफाइल जुवाडेमध्ये १२ जनालाई २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले महाराजगञ्जस्थित साम्वला होटल नजिकै रहेको विक्रम गौतमको घरबाट रकमसहित पक्राउ परेका २५ जुवाडेमध्ये १२ जना मध्ये बलराम सापकोटासहित ६ जनाले आइतवार र इन्द्र बहादुर श्रेष्ठ, शम्भु बहादुर वुढाथोकी र होम प्रसाद चौलागाईसहितका ६ जनाले आज रिट दायर गरेका थिए ।

सो रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश भण्डारीको इजलासले २४ घण्टाभित्र निवेदक १२ जनालाई अदालतमा उपस्थित गराउन आदेश दिएका हुन । अदालतले गत आइतवार रिट दायर गरेका वलराम सापकोटासहितका ६ जनाको बन्दीप्रत्यक्षीकरणको रिटसमेत आज रिट दायर गर्ने ६ जना निवेदकको निवेदनसँगै राखेर पेश गर्न भनेको हो ।

रिट निवेदक बलराम सापकोटासहित १२ जनाले हिरासतमुक्त गर्न माग गर्दै दिएको रिट वुधवार तिहारको सार्वजनिक बिदा भएपनि सुनुवाई भएको हो । गत आइतवार रिट लिएर सर्वोच्च अदालत पुगेका सापकोटासहितका ६ जनाको रिटमा सोमवार सुनुवाई हुन सकेको थिएन । अदालतमा ढीला उपस्थित गराइएपछि सो दिन उनीहरुको रिटमा सुनुवाई हुन सकेको थिएन ।

Featured