देश

जुवातासबाट बरामद पैसा कहाँ जान्छ ?

काठमाडौं, कात्तिक १३–९ कत्तिकमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खालबाट २ करोड ६७ लाख रुपैयाँसहित २५ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा विभिन्न ठूला व्यवसायी पनि थिए । उनीहरुमध्ये ६ जना एयर डाईनिष्टिकका संञ्चालक पवित्रकुमार कार्की, पवन गुप्ता क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा, उद्योगी श्रवणकुमार गोयलसहितको समूह बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत नै पुगेका थिए ।

तर, सयम अभावका कारण सर्वोच्च अदालतले उनीहरुको निवेदनको सुनुवाई गरेन । उनीहरु २५ जनै तिहार अवधिभर प्रहरी थुनामै बस्नु पर्यो । उक्त घटनाले भिईआईपी जुवा खेल्लेको प्रर्दाफास मात्रै गरेन, जुवा खालबाट करिब आधाघण्टा अगाडि निस्कदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासमेत प्रहरीको पक्राउ फन्दाबाट जोगिए ।

त्यस्तै, ११ कात्तिकमा महानगरीय प्रहरी वृत्त किर्तिपुरले १५ लाखसहित ३८ जना जुवाडेलाई पक्राउ गर्यो । यसरी प्रहरीले १ असोजयता दसैं तिहारको अवधिमा ३० जुवा अपरेसनबाट तीन करोड २२ लाख ४२ हजार ८ सय रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) असोक सिंहले जानकारी दिए ।

यसरी जुवा तास खेल्ने २ सय ८४ जनालाई प्रहरीले पक्राउ गरेको एसपी सिंहको भनाइ छ । पक्राउ परेकाहरुलाई जुवा ऐनअनुसार मुद्दा चलाईएको र अधिकांश छुटिसकेको प्रहरीको भनाइ छ । प्रहरीले यसपालिको जुवा तासबाट बरामद भएको रकम अहिलेसम्मकै सबैभन्दा बढी भएको दाबी गरेको छ ।

प्रहरीले यसरी जुवा खालबाट बरामद गरेको रकम नेपाल सरकारको केन्द्रीय राजस्व खातामा दाखिला हुने परिसरका एसपी सिंहको भनाइ छ । ‘जुवाखालबाट बरामद भएको रकम प्रहरीले चलाउन पाउँदैन, राज्यको ढुकुटीमा जाने हो । कसरी खर्च गर्ने केमा खर्च गर्ने भन्ने कुरा राज्यको हो,’ एसपी सिंहले भने ।

Featured