खेलकुद

एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेटको सेमीफाइनलमा नेपालले आयोजक मलेसियाको सामना गर्ने

काठमाडौं, असार २२, एसीसी यू१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत एसिया कप छनोटको फाइनल प्रवेसका लागि नेपालले आयोजक मलेसियाको सामना गर्ने भएको छ। नेपाल र मलेसिया बीचको सेमीफाइनल खेल भोलि सोमबार किन्रारा ओभल क्रिकेट मैदानमा हुनेछ।

हिजो भएको समुह बी आफ्नो अन्तिम खेलमा हंगकंगसँग तीन रनको झिनो अन्तरले पराजित भएको मलेसिया आफ्नो समुहमा दोश्रो हुँदै सेमीफाइनल प्रवेस गरेको हो। हिजोको खेलमा जीत निकालेको हंगकंगले पनि फाइनल प्रवेसका लागि सिंगापुरसँग भिड्ने छ।

आफ्नो दुबै खेल जित्दै समुह बिजेताका रुपमा सेमीफाइनल पुगेको नेपालले पहिलो खेलमा कमजोर चीनलाई १० विकेटले तथा दोश्रो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो।

नेपालले पहिलो खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चीनलाई २३ दशमलब एक ओभरमा ५३ रनमा अलआउट गरेको थियो भने जवाफी ब्याटिंग गर्दै पाँच ओभरमा खेल १० विकेटले जीतेको थियो। पहिलो खेलमा चीनलाई सस्तैमा समेट्ने क्रममा बायाँ हाते स्पिनर सागर ढकालले सर्वाधिक छ विकेट लिएका थिए।

पहिलो खेलमा नै जीत निक्लादै सेमीफाइनल पुगीसकेको नेपालले दोश्रो खेलमा टस जीतेर पहिले ब्याटिंग गर्दै ५० ओभरमा चार विकेट गुमाएर ३२६ रनको विशाल योगफल तयार गरेको थियो। नेपालको तर्फबाट ओपनर रित गौतमले अविजित रहँदै सर्वाधिक ११५ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका खडक बोहराले पनि ९० रनको योगदान दिएका थिए। त्यस्तै छैठौं नम्बरमा ब्याटिंग गर्न आएका कुशल मल्लले आक्रामक पारी खेल्ने क्रममा २३ बलमा अविजित ५१ रन बनाएका थिए।

जवाफी ब्याटिंग गरेको सिंगापुरले ३९ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा कुशल मल्लले सर्वाधिक चार विकेट लिए भने, तिलक राज भण्डारीले दुई तथा सागर ढकाल र रशिद खानले पनि आफ्नो नाममा ११ विकेट दर्ता गराए ।

Featured