देश

बलात्कार अभियोगमा युवासंघ र नेविसंघका नेता पक्राउ

काठमाडौं, काठमाडौं १३–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवासंघ र नेविसंघका केन्द्रीय सदस्यद्धय बलात्कार अभियोगमा पक्राउ परेका छन् । प्रहरीका अनुसार युवासंघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेललाई बलात्कार अभियोगमा पक्राउ गरिएको हो ।

उनीहरुलाई ललितपुर प्रहरीले बलात्कार अभियोगमा ३ कात्तिकमा ललितपुरको पाटनबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका पोखरेलले आफु युवासंघको केन्द्रीय सदस्य तथा उद्योग समृद्धि विभागको सदस्य रहेको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्व केन्द्रीय सदस्य र कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका सदस्य भएको बताएका छन् ।

पोखरेल तुलसीपुर–१८ दाङका हुन भने ज्ञानेन्द्र ककनी गाउँपालिकाका हुन् । पोखरेल भैसेपाटी बस्छन् भने गजुरेल जोरपाटीमा डेरा लिएर बस्दै आएको प्रहरीले बताएको छ । तर युवासंघले भने पोखरेल आफ्नो संगठनको सदस्य नरहेको बताएको छ । युवासंघका नेता प्रभातबिक्रम कटवालका अनुसार युवासंघ केन्द्रीय सदस्यमा सन्देश शर्मा पोखरेल नाम गरेका व्यक्ति नभएको बताए ।

ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङका अनुसार पक्राउ परेका शर्माले आफु युवासंघको केन्द्रीय सदस्य भएको र उद्योग तथा समृद्धि विभागको सदस्य समेत रहेको वयान दिएका छन् । प्रहरीका अनुसार १९ वर्षीय एक युवतीलाई ज्ञानेन्द्र गजुरेलले कात्तिक पहिलो साता कुमारीपाटीस्थित सन्देश शर्मा पोखरेलको कोठामा ल्याएको र उनीहरु दुबै जनाले बलात्कार गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसवुकमार्फ गजुरेल र पीडित युवतीवीच चिनजान भएको हो । सो चिनजानका आधारमा गत २९ असोज राती गजुरेलले पीडित युवतीलाई वोलाएर साथीको कोठामा लगेर दुवैजना मिलेर बलात्कार गरेका हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

Featured