NRNA खबर

एनआरएनए अस्ट्रेलियामा केशव कँडेल निर्वाचित

अस्ट्रेलिया, असार २२, गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन शनिबार सम्पन्न भएको छ। एनआरएनए अस्ट्रेलियाको नेतृत्वमा केशव कँडेल निर्वाचित भएका छन्। उनले अर्का अध्यक्ष उम्मेदवार दिनेश पोखरेललाई पराजित गर्दै एनआरएनए अस्ट्रेलियाको नेतृत्व लिन सफल बनेका हुन्।

एनआरएनए अस्ट्रेलियाले हरेक दुई वर्षमा नेतृत्वका लागि निर्वाचन गर्ने गर्छ। हिजो सम्पन्न निर्वाचनबाट एनआरएनए अस्ट्रेलियाको महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेल र युवा संयोजकमा इर्षाद अहमद चुनिएका छन्। यसैगरी अस्ट्रेलियाका ६ राज्यहरु तथा दुई टेरिटोरीमा समेत नेतृत्व छानिएका छन्।

निर्वाचन समितिका अनुसार न्यु साउथ वेल्समा देवबहादुर गुरुङ, दक्षिण अस्ट्रेलियाबाट नविन पन्त, भिक्टोरियामा प्रेम कँडेल, क्युन्सल्याण्डमा उमेश खड्का, अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा चुणामणि सापकोटा र पश्चिम अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन्। तास्मानिया र डार्बिनमा क्रमशः सन्देश परियार र हेम पुन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

निर्वाचन आयोगका प्रमुख आयुक्त मन केसीले विजयी उमेदवारहरुको नाम घोषणा गरेका हुन्। जम्मा १२ हजार मतदाता रहेको अस्ट्रेलियामा करिव ७० प्रतिशत मत खसेको थियो। अध्यक्षमा निर्वाचित भएपछि कँडेलले निर्वाचनमा हारजित हुने भएकाले सबैसँग मिलेर काम गर्ने बताए। उनले आफूले निर्वाचनताका घोषणा गरेको सबै एजेण्डाहरुलाई पुरा गर्न आफु प्रतिवद्ध भएर लाग्ने पनि बताए।

Featured