देश

विदेशी पर्यटकले पनि लगाए पोखरामा भाइटीका

पोखरा, कात्तिक १३–पोखरामा विभिन्न मुलुकका पर्यटकहरुले सामूहिक रुपमा भाइटीका लगाएका छन् । पोखराको लेकसाइडमा मंगलबार आयोजित भाइटीका महोत्सवमा ३० भन्दा बढी विदेशी पर्यटकले भाइटीका लगाएका हुन् । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १३ औं भाइटीका महोत्सवमा विभिन्न १२ देशका ३० भन्दा बढी पर्यटक सहभागी थिए ।

गत बर्षको १२ औं भाइटीका महोत्सवमा १४ देशका ३५ पर्यटकहरु सहभागि थिए । नेपाली कला संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजित महोत्सवमा अमेरिका, अष्ट्रेलिया, जापान, चीन, जर्मनी, बेलायत, फ्रान्स, होल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, इजरायल, क्यानडा र स्पेन लगायत देशका पर्यटकहरु महोत्सवमा सहभागि भएको पश्चिमाञ्च होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

उनका अनुसार केहि देशका पर्यटकहरु दोस्रो पटक पनि भाइटीकामा सहभागि भएका छन् । पोखराको लेकसाइडमा भएको कार्यक्रममा रेन्वो चिल्ड्रन होमका बालिकाहरुले पर्यटकलाई टीका, माला, र ढाका टोपी लगाएर स्वागत गरेका थिए । पर्यटकहरु भाइटीकामा निकै रमाएको आयोजकले जनाएको छ ।

पहिलो पल्ट भाइटीका ग्रहण गरेका अष्ट्रेलियाका नागरिक रोवर्टले भाइटीका लगाउन पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिए । ‘दिदीबहिनीको हातबाट टीका, मालासहित ढाका टोपी लगाउन पाउँदा निकै खुसी छु, उनले भने ‘नेपाल कला र संस्कृतिमा निकै सम्पन्न रहेछ।’

भाइटीका महोत्सव पोखराका लागि अर्को पर्यटकीय पहिचान बन्दै गएको अध्यक्ष तुलाचनले बताए । ‘भाइटीका पाखराको पर्यटनको चिनारी बन्दै गएको छ’ उनले भने ।

भाइटीका पछि पर्यटकलाई नेपाली परम्परा अनुसार उपहार दिइएको थियो भने पर्यटकले पनि बालिकाहरुलाई दक्षिणा दिएका थिए । पर्यटकहरु देउसी भैलो र सांस्कृतिक कार्यक्रममा सहभागी भए भने सेलरोटी र अन्य नेपाली परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए ।

लेकसाइडस्थित होटल वटरफ्लाईका संचालक एवं होटल संघका सल्लाहकार गोविन्द राज पहारीले यस्ता खालका महोत्सवलाई निरन्तरता दिनुपर्ने खाँचो औंल्याए । ‘यस्ता खालका महोत्सवले विदेशमा निकै सकारात्मक सन्देश लगेको छ’ उनले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ।’

उनले भाइटीका ग्रहण गर्नकै लागि पर्यटक पोखरा आउन थालेको बताए। ‘यस्ता कार्यक्रमले दुई देशबीचका नागरिकमा भाइचारको सम्बन्ध स्थापित गर्न सहयोग गरेको छ’ पहारीले भने, ‘यस पर्वले नेपाली संस्कार र संस्कृतिलाई विदेशसम्म फैलाउन पनि सहयोग गर्दछ ।’

Featured