देश

‘नेपाल विभिन्न भाषा, धर्म र संस्कृति भएको एक प्राचीन मुलुक हो’

काठमाडौं, कात्तिक १२–नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तिहार एवं नेपाल सम्वत नयाँ वर्ष ११४० को शुभकामना दिँदै नेपाल विभिन्न भाषा, धर्म र संस्कृतिले सुसज्जित एक प्राचीन मुलुक भएको बताएका छन् । देउवाले विज्ञप्तिमार्फत शुभकामना सन्देश दिँदै नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र भएकाले मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेको उल्लेख गरेका छन् ।

‘नेपालीहरुको महान चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

‘अन्धकार विनाश गर्ने उज्यालोको यो चाडले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अध्यारोमाथि विजय पाउने प्रेरणा दिन सकोस् । सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्दै तिहारको पाँचौ दिन भाइटिकाको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा मेरो पुनः शुभकामना ।’ देउवाले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

नेपाल सम्वतको नयाँ वर्ष ११४० को शुभकामना दिने क्रममा देउवाले वागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल भएको बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो । नेपाल सम्वतको नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउँछ । यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । शंखधर साख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं ।’

‘एकले अर्काको भाषा, धर्म र संस्कृतिको आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सौहार्दपूर्ण परम्परा छ । हामी सबै मिलेर यो परम्परालाई सधैं अक्षुण राखेर हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने छ । हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वतको नयाँ दिनले सबैमा यही प्रेरणा र सन्देश दिन सकोस् भन्दै, नेपाल सम्वतको नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।’ देउवाले शुभकामना दिएका छन् ।

Featured