देश

नेपालगन्जमा शृंखलाबद्ध आगलागी

बाँके, कात्तिक १२–नेपालगन्जमा शृंखलाबद्ध रूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ । गए राति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र ब्युटीपार्लरमा आगलागी भएको थियो । राति करिब ८ बजेदेखि सुरु भएको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट सुरु भएको आगो छेउमा रहेको ब्युटीपार्लरमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो ।

आइतबार राति मात्रै नेपालगन्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । बिहीबार नेपालगन्जकै बिपी चोकनजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट एक करोड बढीको क्षति भएको थियो । तीन महिनायता नेपालगन्जमा सात ठूला आगलागी भइसकको छ । (रासस)

Featured