देश

बागलुङमा प्रभावकारी बन्दै स्वास्थ्य बिमा

बागलुङ, कात्तिक १२–सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा २०७३ असारदेखि सुरु गरिएको सो कार्यक्रममा हालसम्म ५२ हजार २०८ जना स्वास्थ्य बिमामा आबद्ध भएको स्वस्थ्य बिमा बोर्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताइन् । जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बिमा गर्नेको संख्या बढी छ ।

स्वास्थ्य बिमामा हालसम्म ५२ हजार २०८ जना आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने उद्देश्यले अगाडि सारेको उक्त कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

धौलागिरि अञ्चल अस्पतालमा कमै मात्रमा बिरामी आउन गरेकामा सो कार्यक्रम लागू भएपछि बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको अञ्चल अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । ‘अस्पतालमा स्वस्थ्य बिमा गराएका बिरामी दैनिक ३०० को हाराहारीमा आउने गरेका छन्,’ उनले भने, ‘नियमित औषधि सेवन गर्ने बिरामी निःशुल्क औषधि लिनकै लागि पनि अस्पताल आउने गर्छन् ।’

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य ७०० रुपैयाँका दरले थप शुल्क बुझाई बिमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल र स्वास्थ्य चौकी जान थालेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधरण जनता अनभिज्ञ भए पनि हाल आएर बिमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताइन् ।

बिमा रकम तिर्न नसक्ने अति गरिब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बिमा रकमबापतको शुल्क तिरिदिने गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायत उपचार गराउनाका साथै झन्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बिमाका लागि बागलुङका ७२ दर्ता सहयोगीले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बिमा गराउन सहज भएको छ । (रासस)

Featured