देश

हिमाल आरोहणमा अर्को विश्व कीर्तिमान

काठमाडौं, कात्तिक १२–म्याग्दीका निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । सोमबार चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बन्न सफल भएका छन् ।

सोमबार उनले विश्वकै चौथो अग्लो सिसापङ् (८,०२७ मिटर) हिमाल आरोहण गरेका हुन् । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिएका पुर्जाले वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा पर्ने ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेका थिए । त्यसलगत्तै म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको (८,१६७ मिटर) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्किएका थिए ।

पुर्जाले धौलागिरि हिमाल बिना अक्सिजन आरोहण गरेका थिए । उनले विश्वकै अग्लो सगरमाथा, के टु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नाङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक र गशेरब्रुम दोस्रोको आरोहण गरेका छन् । आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठ भने नेपालमै पर्छन् । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्छन् ।

आरोहणका क्रममा पुर्जाले विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरि चर्चा कमाएका छन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत शेर्पाको टोलीले सघाइरहेको छ । ३५ वर्षीय पुर्वा ‘स्पेसल फोर्स’मा छानिने पहिलो गोर्खाली हुन् । ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पुर्जाले आफ्नै जन्म जिल्लामा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधिसमेत जितेका छन् ।

Featured