देश

इलामको दक्षिणी चुरे क्षेत्रमा विपद जोखिम बढ्दै

इलाम, कात्तिक १०–चुरे क्षेत्रको मनलाग्दी दोहनले झापासँग सीमा जोडिएको इलामको दक्षिणी चुरे क्षेत्रमा विपदको जोखिम बढ्दै गएको छ । स्थानीय नदीको दोहन र वन विनाशका कारण चुरे क्षेत्रमा वातावरणीय सन्तुलन खल्बलिएर स्थानीय बासिन्दा प्रभावित हुन थालेका छन् ।

रोङ गाउपालिकाका जम्मा ६ वडामध्ये प्रत्येक वडाको दक्षिणी भाग संवेदनशील चुरे क्षेत्रमा पर्छ । सो क्षेत्रमा टाङटिङ, बिरिङ, टिमाई, निन्दा र मेचीजस्ता सानाठूला गरी करिब १० वटा नदी छन् । अन्य दर्जनौँ खहरे रहेका छन् । यी नदीहरुकोे कटान र पहिरो यस गाउँपालिकाकोे मुख्य प्रकृतिक समस्या बन्दै गइरहेका छन् । ठूला–ठूला पहिरोले गाउँपालिकाको ६ वटै वडाका बस्ती र खेतीयोग्य जमिन नै जोखिममा पारेको छ ।

प्राकृतिक समस्याका कारण चुरे पहाड क्षेत्रका बासिन्दामा समस्या र त्रास पनि बढ्दो छ । कसैलाई पहिरोले घरै लगिदेला भन्ने त कसैलाई जमिन भासिएर बस्ती पुरिने डर छ । बर्षातको समयमा उर्लिएर आउने खहरे खोलाको त्रास त झनै भनिसाध्य नरहेको स्थानीयहरु बताउँछन् ।

हिउँदमा समेत सुख्खा पहिरो खस्दा झापा र इलामको सीमावर्ती रोङको चुरे क्षेत्रका बासिन्दा दिनरात पिरोलिरहेका छन् । रोङ गाउँपालिका–४ की स्थानीय माया पाख्रिनले भनिन्, ‘कतिबेला पहिरो खस्छ भन्ने त्रासले सताइरहन्छ । कहिले बाढी, कहिले पहिरो । ढुक्कले बस्ने दिन छैन । तर हाम्रो समस्या कसैले सुनिदिएन ।’

कच्ची चुरे क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याबाट रोङका कयौँ गाउँहरु प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । भूक्षय, बाढीपहिरो, खडेरी लगायतका समस्याबाट स्थानीय बरफल्याङ, झटारे, कागुने, बाहुनीखर्क, प्यूरे, बहुवन, पाटापुर, सलकपुर र रम्भ्याङजस्ता दर्जनौँ गाउँहरु प्रभावित हुँदै आएका छन् ।

रम्याङका स्थानीय बासिन्दा ३ वर्षदेखि सिद्धिखोलाका कारण हैरान छन् । रम्याङ पुछारबाट सुरु भएको पहिरो सिद्धिखोलासम्म पुगेपछि त्यहाँका १० घर विस्थापित भएका छन् । रम्भ्याङको माथिल्लो भागमा रहेको खेतीयोग्य जमिन बर्से्नि भासिदै आएको र बस्ती नै बग्ने त्रास बढेको स्थानीय उमेश राईले बताए । उनले भने, ‘थुप्रै परिवार विस्थापित नै भइसकेका छन् । चुरे दोहन जसरी भए पनि रोक्नुपर्छ अन्यथा बस्ती नै सखाप हुन्छ ।’

समथर डाडाँमा तराइको रुपमा रहेको बरफल्याङ गाउँको पूर्व–दक्षिण भागमा ठूला–ठूला पहिरोहरु रहेका छन् । यहाँको खरबनीमा पहिरोका कारण मात्रै १५ घर प्रत्यक्ष प्रभावित बनेका छन् भने सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भएको रोङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।

स्थानीय नदी तथा खहरे खोलामा बाढी आएसँगै पहिरोको फेद कटानमा पर्ने र त्यसपछी पहिरो जाने गरेको छ । अझ बिरिङको बाढीले चुरेको तल्लो क्षेत्रमा रहेको झापाको बिभिन्न बस्ती र खेतीयोग्य जमिन क्षय हुनुका साथै पानीको श्रोतसमेत पुर्दै आएको छ । नेपालकै पूर्वी सिमामा रहेको मेची नदीले समेत रोङ गाउँपालिकाको ६ नम्बर वडा क्षेत्रमा कटान गरेको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले रोङका प्रभावित स्थानहरुलाई भने छुन नसकेको गाउँपालिकाका अध्यक्ष शमसेर राईले बताए । उनले भने, ‘धेरै वर्ष पहिलेदेखि चुरे दोहनले यो समस्या निम्तिएको हो । समाधानका लागि हामी पनि लागिपरेकै छौँ ।’

इलामको कुल क्षेत्रफलमध्ये ३८ हजार ९ सय ८२ दशमलव २० हेक्टर जमिन चुरे क्षेत्रमा रहेको छ भने लगभग त्यसको एकतिहाई भूभाग रोङ गाउँपालिकाले ओगटेको छ । यस गाउँपालिकाको १५ हजार ५ सय ६ हेक्टर क्षेत्रफल रहेको छ । जसमध्ये ४ हजार ५ सय ४२ दशमलव २ हेक्टर जमिन चुरे क्षेत्रमा अवस्थित रहेको छ । यही संवेदनशील भूभागमा बस्दै आएका रोङवासीले हरेक वर्ष विभिन्न किसिमका प्राकृतिक विपत्ति व्यहोर्दै आएका छन् ।

Featured