देश

गृह मन्त्रालयका चालकहरूलाई ट्राफिक सचेतना कक्षा

काठमाडौं, कात्तिक १०–महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृह मन्त्रालयका सवारी चालक तथा अन्य ईच्छुक व्यक्तिहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिएको छ । शुक्रबारको कक्षामा गृह मन्त्रालयका ३५ जना सवारी चालक सहभागी थिए ।

सो अवसरमा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए । सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन उनले सबैलाई आग्रह गरे । सचेतना कक्षा निरन्तर सञ्चालन हुने र अन्य सम्पूर्ण मन्त्रालयका सवारी चालकहरूलाई पनि क्रमशः सहभागी गराउँदै लगिने उनले जानकारी दिए ।

ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा व्यवहारिक र जिवनउपयोगी भएकाले सडकमा सवारी चलाउँदा ठूलो महत्व रहने सहभागी चालकहरूले बताए । सहभागी चालकहरूलाई ट्राफिक नियम, कानूनी ज्ञान र मानवीय संवेदनाबारे कक्षा दिइएको थियो ।

Featured