विदेश

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

एजेन्सी, कात्तिक १०–चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाएका हुन् । आन्दोलनकारीको मागअनुसार पिनेराले नयाँ मन्त्रिपरिषद् गठन गर्ने सुरसार कसेका छन् । राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उनले आन्दोलनकारीको आवाज आफूले सुनेको बताएका थिए ।

उनले भने, ‘हामी सबै परिवर्तन हुनुपर्छ, हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढंगले निकाल्नुपर्छ ।’ गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाखले राष्ट्रपतिको राजिनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए ।

उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग राखेका छन् । अहिले भएको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ भने अन्य सयौँ घाइते भएका छन् । राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि घोषणा गरेको संकटकाल पनि खारेज गरेका छन् ।

Featured