देश

प्रजातान्त्रिक हकअधिकार संकुचन गर्न खोजियो : सभापति देउवा

काठमाडौं, कात्तिक १०–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वा्चित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रिय एकता तथा अखण्डतालाई अक्षुण राख्न तरुण दल र विद्यार्थीको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए ।

सभापति देउवाले भने, ‘प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, वाक स्वतन्त्रता, सम्पत्तिको हक, स्वाभिमानका साथ निर्धक्कसँग बाँच्न पाउनेलगायत हक हुन् । यसमा षडयन्त्र हुन लागेको छ । त्यसविरुद्ध लड्न सम्पूर्ण युवा तरुणको भूमिका महत्वपूर्ण हुन्छ । अब तपाईंहरुको काँधमा बढी जिम्मेवारी आएको छ ।’

लोकतन्त्रको रक्षा र सुदृढीकरणमा तरुण दल ठूलो उत्साहका साथ लागेको भन्दै उनले तरुण दलको नेतृत्वको प्रशंसासमेत गरे । कार्यक्रममा कांग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो । तरुण दलको स्थापना विसं २०१० कात्तिक १० गते भएको हो ।(रासस)

Featured