देश

पोखरामा तीन करोडबराबरको फूलको कारोबार हुने

पोखरा, कात्तिक १०–तिहारको अवसरमा पोखरामा करिब ३ करोड रुपैयाँबराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ । तिहार पर्वको अवसरमा पोखरा र आसपासका क्षेत्रहरूमा उक्त रकमबराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ । तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको बिक्री भइरहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले जनाएको छ । फूलैफूलको पर्वका रूपमा चिनिने तिहार पर्वमा पोखरा क्षेत्रमा मात्र करिब साढे २ करोड रुपैयाँको फूलको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन (फान) नेपाल कास्कीका उपाध्यक्ष दिलबहादुर गुरुङले बताए ।

उनका अनुसार पोखरा क्षेत्रमा करिव ८० प्रतिशत फूल स्थानीय र बाँकी भारतीय फूलले बजार लिने गरेको छ । यस वर्ष धेरै पानी परेकाले व्यावसायिक फूलखेती राम्रोसँग फस्टाएको उपाध्यक्ष गुरुङले बताए । ‘यस वर्षको तिहार गत वर्षको तुलनामा केही छिटो भएका कारण गाउँघर र सबैतिर सहज रूपमा फूल फुलिसकेको छैन,’ उनले भने, ‘व्यावसायिक रूपमा लगाएको फूल भने यस वर्ष धेरै राम्रोसँगै मौलाएको छ ।’

बारीमा उत्पादन भएको फूल प्रतिथुङ्गा ५ रुपैयाँ र एउटा मालाको ५० देखि ३ सय रुपैयाँसम्ममा बिक्री गरिएको उनले बताए । महँगो बिउ, जनशक्ति अभाव र आवश्यकताअनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको गुरुङ बताउँछन् । भारतीय फूल सस्तो हुने हुँदा सजावटका लागि प्रयोग गरिने उनको भनाइ छ । भारतीय फूलको माला करिब ४० देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए ।

पोखरामा अमेरिकन मेरिगोल्ड र कलकत्तिया प्रजातिको फूलको खेती हुने गरेको छ । मेरिगोल्ड प्रजाति एक पटक मात्र फूल्ने भएका कारण यसको उत्पादन तिहारलाई लक्षित गरेर गर्ने गरिएको छ । त्यसैगरी, कलकत्तिया प्रजातिको फूल भने करिब ८ महिनासम्म उत्पादन हुने गरेको छ । लामो समयसम्म फुलिरहने भएका कारण कलकत्तिया प्रजातिको फूल तिहारका अलावा विभिन्न सघसंस्थाका औपचारिक कार्यक्रम, विवाह, ब्रतबन्धलगायतका शुभकार्यहरूमा यसको प्रयोग हुने गरेको व्यवसायीको भनाइ छ ।

पछिल्लो समय उपभोक्ताको पनि फूलप्रति आकर्षण बढ्दै गएका कारण यस वर्ष पोखरासहित स्याङ्जा, तनहुँ, गोर्खा, लमजुङलगायत जिल्लामा फूल उत्पादन भएकाले उपभोक्ताको मागको करिब ८० प्रतिशत स्थानीय उत्पादनले नै धानेको उपाध्यक्ष गुरुङको भनाइ छ । पोखरा क्षेत्रमा व्यावसायिक फूल खेतीमा आवद्ध ३६ जना नर्सरी व्यवसायीहरूले फूलको उत्पादन र बिक्री गर्दै आएका छन् ।

मनकामना नर्सरीका सञ्चालकसमेत रहेका उपाध्यक्ष गुरुङले यस वर्ष पनि तिहार पर्वलाई लक्षित गरी ४५ हजार सयपत्री फूलका बेर्ना बिक्री गरेको बताए । ३ हजार फूलका बेर्नासमेत लगाएका उनले यस वर्ष फूलबाट राम्रो आम्दानी गर्न सफल भएको बताए । फ्लोरिकल्चर एसोसिएसन कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले पोखरा क्षेत्रमा करिब ५० लाखको भारतीय फूलले बजार ओगटेको बताए । उनका अनुसार पोखराका नर्सरी व्यवसायीबाट १ करोड रुपैयाँबराबरको र व्यावसायिक कृषक तथा केही साना किसानबाट १ करोड रुपैयाँबराबरको फूलको कारोबार हुने गरेको अनुमान छ ।

गोल्डेन नर्सरीका संचालक समेत रहेका निवर्तमान अध्यक्ष द्वाले यस वर्ष करिब ५ रोपनी जमिनमा फूल खेती गरेको बताए । ‘तिहार पर्वमा हरेक पुष्प व्यवसायीहरूले लाखौं आम्दानी गर्ने गरेका छन् ।’ उनले भने । अझै पनि फूलको बिउमा परनिर्भरता रहेका कारण लाखौं रुपैयाँ बाहिरिने गरेको उनको भनाइ छ ।

Featured