काठमाडौं, कात्तिक १०–‘समदृष्टि’ स्मारिका विमोचन गरिएको छ । सगरमाथा प्रतिभा प्रतिष्ठानले स्मारिकाको शनिबार काठमाडौंमा विमोचन गरेको हो । स्मारिका विमोचन गर्दै प्रतिष्ठानका अध्यक्ष डा. रेणुका सोलुले साझा चौतारी ‘सगरमाथा प्रतिभा प्रतिष्ठान’ले साहित्यिक एवं समाज सेवाका गतिविधि गर्दै आएको बताउँदै फरक प्रतिभाहरूका बीच पारस्परिक सद्भाव, स्नेह, विमर्श, अन्तरक्रिया, बौद्धिक बहस साथै विविध सामाजिक क्रियाकलाप गर्दै आएको बताइन् ।
उनले भनिन्, ‘संस्थाले राष्ट्रको समृद्धिका लागि विविध क्षेत्रका विज्ञहरुबाट राय, सुझाव तथा मार्गदर्शनका रूपमा तयार पारिएका लेख, रचना संकलन गरि विचार प्रवाह गर्ने लिखित दस्तावेजका रूपमा ‘समदृष्टि’ प्रकाशन गरिएको छ ।’ स्मारिकाका लेखक एवं प्राध्यापक डाक्टर सुरेन्द्र केसीले ऐतिहासिक सन्दर्भमा नेपालको कूटनीतिको चर्चा गरे । उनले भने, ‘नेपालको कूटनीतिको चरित्र निर्माणमा नोकरशाही वर्गको रचनात्मक भूमिका आउन सक्दछ, जसबाट हाम्रो आफ्नै कूटनीतिक पहिचान बनाउन सम्भव हुन्छ ।’
विमोचन कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रकाशसिंह कार्कीले देशलाई समृद्ध र सुखी नारालाई पूरा गर्न राष्ट्रले के गर्ने भन्ने विषय बढी महत्त्वपूर्ण भएको चर्चा गरे । कार्यक्रममा विभिन्न वक्ताहरुले प्रतिष्ठानको कार्य र त्यसको निरन्तरतासँगै दीपावली, नेपाल संवत र छठ पर्वको शुभकामना प्रदान गरेका थिए । स्मारिकामा विभिन्न विज्ञहरुको १५ शीर्षकमा लेख तथा रचनाहरु र अन्त्यमा संस्थाको प्रगति प्रतिवेदन समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस