देश

मौलिकता जोगाउँन पराम्परागत देउसी भैली

सुर्खेत, कात्तिक १०–कालिकोट शुभकालिका–१ छाती गाउँमा मगर समुदायले मौलिक तरिकाले देउसी भैली खेल्न सुरु गरेका छन् । मौलिक संस्कृतिमाथि आक्रमण हुँदै गएको भन्दै उनीहरुले मौलिक तरिकाले देउसी भैली खेल्न शुरु गरेका हुन् । मौलिक तरिकाले खेलिने देउसी भैली हराउँदै गएको बेला मगर समुदायले खेल्ने गरेको देउसी भैली अहिले कालिकोट जिल्लाको आक्रर्षण भएको छ ।

अधिकांश देउसी भैलीमा मौलिक संस्कृतिको हराउँदै गएको र देउसी भैलोमा जिल्लामै लोकप्रिय मानिने थाली नाच, मादले मारुनी, सालैजो, कौडा, सिरफुले पुख्र्यौली नृत्य लगायतलाई प्राथमिकता दिने गरिएको शुभकालिका गाउँपालिका–१ का वडा अध्यक्ष वीरबहादुर बुढामगरले बताए । ‘हामीले मौलिक तरिकाको देउसी भैली खेल्न प्राहोत्साहित गरेका छौं,’ उनले भने, ‘हराउँदै गएको मौलिकताका विषयमा जिल्ला सबै स्थानमा मौलिक देउसी भैली देखाउने योजना रहेको छ ।’

कला, संस्कृतिहरु समाजका गहना भएका कारणले कला संस्कृतिको जगेर्नाका लागि पनि मौलिक देउसी भैली खेल्न थालिएको अध्यक्ष बुढामगरले बताए । ‘कला संस्कृतिको जगेर्ना भएन भने हाम्रो पहिचान पनि गुम्छ,’ उनले भने, ‘लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान हो ।’

मौलिक संस्कृतिमा अतिक्रमण बढ्यो
तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको छ । विषेश गरेर अहिलेका युवायुवतीमा मौलिकता हराउँदै गएको हो । देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको ७० वर्षीया पदमबहादुर शाहीले बताए । ‘पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृतिको प्रभाव देउसी भैलोमा बढेको छ,’ उनले भने, ‘पहिलेको देउसी भैलो भावनात्मक हुने गरेपनि अहिलेको देउसी भैलो भने युवायुवतीहरुको मनोरञ्जनमा मात्रै सीमित भएको छ ।’

Featured