देश राजनीति

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै

काठमाडौं, कात्तिक १०–नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ । तरुण दलले आज बिहान काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिए ।

विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए । त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बिपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो ।

यद्यपि विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत थिए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको अध्यक्ष बस्नेतले बताए ।

विसं २०५४ मा नेपालगञ्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव, उदयशम्शेर राणा र हाल बस्नेत अध्यक्ष छन् ।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । संगठनको हितविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई कारबाही गरेका छन् । पञ्चानब्बे सदस्यीय रहने केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

Featured