देश साहित्य

आज महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती

काठमाडौं, कात्तिक १०–नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । सानो उमेरदेखि नै कविता लेख्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देवकोटाका कृति राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय दुवै क्षेत्रमा चर्चित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको सुरुवात गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ भने सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन भेटिन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थियो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री भएका थिए । सोही समयमा नै उनले नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गराएका थिए भने नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उनको सक्रिय योगदान छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँशुकविको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उनले नेपालीलाई उच्चस्तरका साहित्यिक कृतिहरु दिएका थिए ।

Featured