देश

गोली हानेर महानगरका अग्नि नियन्त्रकको हत्या, एक दम्पत्ति पक्राउ

जनकपुर, कात्तिक १०–कात्तिक ८ गते वीरगञ्जको नगवा पोखरीमा मृत्य अवस्थामा फेलापरेका महानगरपालिकाका कर्मचारीको हत्या भएको प्रहरीको अनुसन्धानवाट खुलेको छ । अग्नि नियन्त्रक बुनिलाल चौरसियाको नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको खुलेको हो ।

‘अस्पतालमा शव परीक्षण गर्दा शरीरमा गोली भेटिएको छ, हामी अनुसन्धान कार्यलाई गम्भीरतापूर्व अगाडि बढाइरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने । पोष्ट मार्टम रिपोर्ट अनुसार चौरसियाको कन्चटमा एक र पेट तथा छातीमा चार राउण्ड गोली हानिएको देखिएको छ ।

पोस्ट मार्टममा संलग्न चिकित्सक डा.अजित साहले भने, ‘चौरसियाको कन्चटमा हानिएको गोली टाउँको भित्र अड्किएको थियो । उनको टाउँको चिरेर गोली निकालेका छौं । यसैगरी नाइटोभन्दा तल करिब ९ इन्च भित्र एउटा गोली निकालेका छौं भने नाइटो तल २ ठाउँमा र बायाँ तर्फको छातीमा गोली हानिएको छ ।’

पोष्ट मार्टममा संलग्न एक जना प्रहरी अधिकारीका अनुसार गोली नजिक बामट हानी हत्या गरिएको देखिएको छ । नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा चौरसियाको शव भेटिएको थियो । सुरुमा आत्महत्याको आशंका गरिएको थियो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दम्पत्तिलाई चौरसियाको शव भेटिएकै दिन नियन्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज ६ माइस्थानका दीपक किशोर अग्रवाल दीपु र उनकी श्रीमती निधी अग्रवाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैबीच प्रदेश २ का मुख्यमन्त्री लगायतको टोलीले पीडित परिवारसँग भेट गरेका छन् । मुख्यमन्त्री लालबाबु राउत गद्दी, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेश सांसद प्रहलाद गिरी, सिंहासन साह कलवार, राजपाका महासचिव राजेशमान सिंह, समाजवादी पार्टीकी नेतृ करिमा बेगमलगायतले मृतकका परिवारसँग भेटघाट गर्दै घटनामा संलग्न दोषीलाई कुनैपनि हालतमा उम्किन नदिने प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री राउतले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरसँग घटनाबारे विस्तृत जानकारी लिदै घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कानुनी कठगारामा ल्याउन निर्देशन दिएका छन् ।

Featured