देश

असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

काठमाडौं, कात्तिक १०–अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल आज बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कात्तिक ८ र ९ गते भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । यसअघि बाकुस्थित हेयदार अलियेभ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका यातायात, सञ्चार तथा उच्च प्रविधिमन्त्री रमीन गुलुजादे, उपविदेशमन्त्री रामिज हुसेनोभ र विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश छन् ।

Featured