देश

काँग्रेसमा उम्मेदवार छान्न प्रक्रिया सुरु

काठमाडौं, कात्तिक १०–आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका नेतालाई टिकट दिने परम्परा कायम रहँदा यस्तो सकस देखिएको हो ।

पार्टीको विधान मिचेर उम्मेदवार छनोट गर्ने अभ्यास केन्द्रीय नेतृत्वबाट विगतमा सुरु भएपछि यस पटक जिल्ला नेतृत्वबाट पनि सोही अभ्यास अपनाइएको भनाइ जिल्ला सभापतिहरूको छ । उपनिर्वाचनमा स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्न क्षेत्रीय समितिले बढीमा तीनजनाको नाम पठाउनुपर्नेमा १६ जनासम्मको नाम पठाएको छ । विधानमा तीनजनाको नाम पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कास्कीको क्षेत्र नं. २ बाट निर्वा्चित रवीन्द्र अधिकारको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा काँग्रेसले १६ जनाको नाम पठाएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीका अनुसार, क्षेत्रीय सभापति माधव बाँस्तोलादेखि पूर्वउम्मेदवार देवराज चालिसेसम्मको नाम सिफारिस भएको छ ।

यस्तै, वीरेन्द्रनारायण बिजुक्छे, खेमराज पौडेल, सोभियत अधिकारी, केशर निर्दोषी, ऋषि काफ्ले, लक्ष्मी पाण्डे, रङ्गिला आचार्य, खिमकुमारी बराल, विजयराज आचार्य, गुरु बराल, कृष्ण कार्की, महादेव गुरुङ, विमला भण्डारी र निर्मलप्रसाद कर्माचार्यको नाम केन्द्रमा पठाएको छ ।

जब कि सो क्षेत्रमा सत्तारुढ नेकपाले स्वर्गीय अधिकारीकी श्रीमती विद्या भट्टराईको एक मात्र नाम पठाएको छ । काँग्रेसको क्षेत्र नं. २ मा दुई धारबीच सहमति नभएपछि सबैको नाम पठाइएको जानकारी सभापति केसीले दिए । उनले पूर्वउम्मेदवार चालिसेको एकल नाम पठाउनेबारेमा छलफल भए पनि सहमति नभएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured