देश

सुनसरीका कृषक तरकारी खेतीतर्फ आकर्षित

इनरुवा, कात्तिक ६–सुनसरी देवानगन्ज गाउँपालिका(४ का रुपेश मेहताले एक बिघा पाँच कट्ठा जग्गामा अहिले तरकारी खेती गरेका छन् । मेहताले एक बिघा जग्गामा काउली, दुई कट्ठा जग्गामा बन्दा र तीन कट्ठा जग्गामा मुला लगाएका छन् ।

मेहताले करिब १ लाख ५० हजार रुपैयाँको लागतमा तरकारी खेती सुरू गरे । उनीजस्तै देवानगन्ज गाउँपालिका(३ का अरविन्द गुप्ताले १८ कट्ठा जग्गामा काउली खेती गरेका छन् । गुप्ताले ८० हजार रुपैयाँको लगतमा आफूसँग भएको १८ कट्ठा जग्गामा अन्य कुनै बाली नगरेर तरकारी बाली लगाए । त्यस्तै देवानगन्ज गाउँपालिका(३ कै जनकलाल मेहताले दुई बिघा १३ कट्ठा जग्गामा तरकारी खेती गरेका छन् ।

आफूसँग भएको जग्गामा जनकलालले १० कट्ठामा काउली, १५ कट्ठामा ब्रोकाउली, १० कट्ठामा बन्दा, पाँच कट्ठामा भान्टा, तीन कट्ठामा मुला र १० कट्ठामा अलुवाखेती गरेका छन् । उनले २ लाख रुपैयाँको लागतमा तरकारी खेती गरेका हुन् । त्यस्तै देवानगन्ज गाउँपालिका(३ का सरजुग मेहताले एक बिघा तीन कट्ठामा तरकारी खेती गरेका छन् । उनले १ लाख २५ हजार रुपैयाँको लगानीमा एक बिघामा काउली र तीन कट्ठा जग्गामा टमाटर खेती गरेका छन् ।

त्यस्तै देवानगन्ज गाउँपालिका(४ का विन्देश्वरी पण्डितले दुई बिघा जग्गामा तरकारी खेती गरेकी छन् । उनीहरु त्यस क्षेत्रका लागि उदाहरणका पात्र हुन् । उनीहरु जस्तै त्यस क्षेत्रका सयौं कृषकले तरकारी खेती गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । धान, मकै, गहुँलगायत अन्य बालीबाट राम्रो आम्दानी हुन छोडेपछि अहिले त्यस क्षेत्रका कृषक काउली खेतीलाई मुख्य पेसाको रुपमा लिएका छन् । आफूहरुले काउली खेतीबाट मात्रै वार्षिक रुपमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । त्यही आम्दानीबाट छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुका साथै घरपरिवार समेत चलाउन सफल भएको कृषक बिन्देश्वर पण्डितले बताए ।

तरकारी खेतीबाट सोचेको जस्तो आम्दानी भए पनि समस्या पनि उत्तिकै रहेको स्थानीय डुमरलाल मेहताले बताए । कृषकलाई समयमा जनमजदुर नपाउनु, समयमा सिँचाइ उपलब्ध नहुनु, समयमा मलको सुविधा नहुनु, उत्पादन भएको तरकारीको बजार नपाउनु, लगानीअनुसारको तरकारीको मूल्य नपाउनुलगायतको समस्या रहेको अनुपम तरकारी कृषि सहकारी संस्थाका अध्यक्ष रामवृक्ष मेहताले बताए ।

सुनसरीमा अहिले वार्षिक रुपमा १ अर्ब रुपैयाँभन्दा बढीको तरकारीको कारोबार हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका बागबानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए । जिल्लामा वार्षिक रुपमा ३ हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । तरकारी खेतीका लागि विभिन्न समस्याको सामना गर्दै आएको कृषकलाई समस्याबाट मुक्त गराउन र तरकारी खेतीतर्फ अझ आकर्षित गर्नका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ । (रासस)

Featured