देश

निको हुन्छ स्तन क्यान्सर, वार्षिक पाँच हजार विरामी थपिँदै

काठमाडौं, कात्तिक २–सुरुमै पत्ता लगाउन सके स्तन क्यान्सरबाट पूर्ण रूपमा बच्न सकिने भए पनि नेपालमा भने स्तन क्यान्सर रोग लागेका महिला दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल पुग्ने गरेको पाइएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यले प्रायः महिलाहरू दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल पुग्ने गरेको बताए । उनले विगतको तुलनामा स्तन क्यान्सरमा केही जनचेतना फैलिए पनि ग्रामीण क्षेत्रका महिलामा क्यान्सरबारे जानकारी नभएको जानकारी दिए ।

स्तनमा एउटा गिर्खो आएको त हो नि भनेर अस्पताल नगई बस्दा क्यान्सर तेस्रो, चौथो चरणमा पुग्ने भएकाले समयमै सचेत हुनुपर्ने उनको भनाइ छ ।ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल र क्यान्सर सपोर्ट समूहले नेपालमा स्तन क्यान्सर लागेका, उपचार गराइरहेका र उपचारपछि निको भएका महिलाहरूप्रति ऐक्यबद्धता जनाउन आयोजना गरेको सचेतनामूलक कार्यक्रममा डा. अमात्यले स्तन क्यान्सर भए नभएको महिलाले आफ्नो स्तन आफैँ छामेर पत्ता लगाउन सक्ने बताए ।

डा. अमात्यले नेपालमा स्तन क्यान्सरका बिरामीहरू वार्षिक पाँच हजार थपिने जानकारी दिए । समयमै उपचार गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने भन्दै उहाँले जनचेतना फैलाउनुपर्ने बताए । नेपालमा स्तन क्यान्सरबारे जनचेतना फैलाउन विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured