देश

रंगेली अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव, उपचारमा समस्या

विराटनगर, असोज २५–चिकित्सकको अभावका कारण रंगेली अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा शल्यक्रिया गर्ने उपकरण भए पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचार गर्न समस्या भएको हो ।

मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा अवस्थित सो अस्पतालमा ६ शय्याको आइसियू र ३ शय्याको एनआइसियूको उपकरणहरू थन्काइएका छन् । यसरी थन्काइएका उपकरणमा माकुराले जालो लगाउन थालिसकेको छ ।
अस्पतालमा अत्याधुनिक उपकरणहरू भएर पनि विशेषज्ञ चिकित्सकको दरबन्दी नहुँदा १५ शय्याको यस अस्पतालले स्थानीयहरुलाई अपेक्षित सेवा दिन सकेको छैन । अस्पताललाई अहिले स्थानीय तहको मातहतमा रहने गरी प्राथमिक अस्पतालमा परिणत गरिएको छ ।

जिल्ला अस्पताल हुँदा ४६ जनाको दरबन्दी रहेको सो अस्पतालमा अहिले २८ जनाको मात्र दरबन्दी कायम रहेको सूचना अधिकारी गोविन्द कटुवालले बताए । कर्मचारी समायोजनपछि चिकित्सकहरू रंगेली अस्पतालमा आउन नमान्ने गरेको बताउँदै कटुवालले नवौँ तहको सुपरिटेन्टडेण्ड र आठौँ तहको २ जना मेडिकल अफिसियरको दरबन्दी रहे पनि अहिलेसम्म नआएको उनको भनाइ छ ।

‘ग्रामीण क्षेत्रमा भएर होला यहाँ कुनै पनि अफिसियरहरु आउन मान्नु भएको छैन । चिकित्सकको अभाव भएपछि उपचार सेवा प्रभावित बनेको छ,’ उनले भने, ‘अस्पतालमा भएका कर्मचारी सरुवा भएर जान्छन्, तर आउने कर्मचारी अहिलेसम्म नआएकाले अहिले अस्पतालमा २० जना मात्र कर्मचारी कार्यरत छन् ।’

अस्पतालमा अहिले सामान्य ओपीडी र आकस्मिक सेवाहरू मात्र सञ्चालन भएको छ । रंगेली अस्पतालमा वार्षिक २० हजार २ सय ३७ जना बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालमा मोरङको पूर्वी–दक्षिण, उत्तरी र सीमावर्ती भारतसम्मका आर्थिक अवस्था नाजुक भएका बिरामीले सेवा लिँदै आएका छन् ।

दैनिक करिब ६० देखि ७० जना बिरामीले सेवा लिने सो अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक नहुँदा समस्या भएको रंगेली– ९ का स्थानीय भुवनलात ताजपुरियाले बताए । उनले भने, ‘खै यो कस्तो संघीयता हो ? गाउँगाउँमा सिंहदरबार भन्ने कुरा त भोट लिन मात्रै रहेछ । पहिले भएको सेवासमेत अहिले छैन । उपचारका लागि निजी अस्पताल र विराटनगरसम्म धाउनुपर्ने बाध्यता छ ।’

त्यस्तै रंगेली– २ का विष्णुप्रसाद गौतमले पनि रंगेली अस्पताल हाल नाम मात्रको भएको गुनासो गरे । ‘सामान्य उपचारका लागि पनि सदरमुकाम विराटनगर नगई उपाय छैन । सरकारले यहाँ दरबन्दी अनुसारको कर्मचारी पठाइदिए हामीलाई ठूलो राहत हुनेथियो,’ उनले भने ।

अस्पतालको अभिलेखअनुसार आर्थिक वर्ष २०७३/७४ मा १७ हजार ८ सय ५१ जना बिरामीले ओपीडीमा स्वास्थ्य परिक्षण गराएका थिए भने ०७४र७५ मा १९ हजार ४१ जनाले सेवा लिएका थिए ।

Featured