देश

सवा १० अर्बको ट्रेजरी बिल निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौं, असोज २५–नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा अवधि सकिएका सरकारी ऋणपत्रहरूलाई पुनः नवीकरण लिलामी गर्न थालेको छ । गत आर्थिक वर्षमा सरकारले आफ्नो लक्ष्यअनुसार आन्तरिक ऋण उठाएको थिएन । गत आर्थिक वर्षमा सरकारले जम्मा ९६ अर्ब ३८ करोड रूपैयाँ आन्तरिक ऋण उठाएको थियो भने ३४ अर्ब ३१ करोड रूपैयाँबराबरका आन्तरिक ऋण तिरेको थियो ।

अवधि सकिए पनि सरकारी कोष सञ्चालनमा आवश्यक तरलता रकम कायम राख्नका लागि राष्ट्र बैंकले धमाधम नवीकरणीय ट्रेजरी बिल जारी गर्न थालेको छ । राष्ट्र बैंकले सोमबार १० अर्ब २५ करोडको ट्रेजरी बिल निष्कासन गर्न लागेको हो । यसमध्ये ८ अर्ब रुपैयाँको ट्रेजरी बिल ९१ दिने र २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल १८२ दिने निष्कासन गर्न लागिएको हो । यी दुवै ट्रेजरी बिल नयाँ भने होइनन, नवीकरण गरेर पुनः जारी भएका हुन् ।

असोज १६ गते १ अर्ब ९९ करोड रुपैयाँको ट्रेजरी बिल जारी भएकोमा ५ अर्ब ४ करोड रुपैयाँको बोलपत्र प्राप्त भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो दोब्बर अधिकको माग हो । जसको बट्टादर (डिस्काउन्ट रेट), ९१ दिनेका लागि ४ दशमलव ४३ प्रतिशत र १८२ दिनका लागि ४ दशमलव ४५ प्रतिशत कायम भएको छ । यो बट्टादरले बजारमा तरलता पर्याप्त रहेको र आमनागरिकले पाउने ब्याजदर पनि सन्तोषजनक रहेको देखाउँछ ।

Featured