देश

पाँच लाखको चाँदीसहित दुई तस्कर पक्राउ

जनकपुरधाम, असोज १२–नेपालबाट भारततर्फ चाँदीको तस्करी बढीरहेका बेला तस्करविरुद्ध प्रहरीले विशेष अभियान चलाएको छ । यसैक्रमा प्रदेश २ को ८ वटै जिल्लामा केही महिना भित्रै दर्जनो व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले भने चाँदी तस्करीलाई रोक्न प्रहरीले विशेष अभियान चलाएकै कारण तस्कर पक्राउ अभियानमा तीब्रता आएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै चाँदी तस्करी रोक्न सक्रिय भएको छ ।

७ किलो चाँदीसहित धनुषाबाट २ जना तस्करलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रहरीले जनाएको छ । धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्यूरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परिएको चाँदीको बजार मूल्य ५ लाख २० हजार ७ सय रुपैया रहेको छ । पक्राउ परेका थप दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यसअघि शुक्रबार बिहान मोटरसाइकलको ट्यांकीमा लुकाइ भारततर्फ लैजाँदै गरेको १८ किलो चाँदीसहित जनकपुरधामको बसविट्टीबाट महोत्तरीको पिपरा गाउँपालिका–५ सहरबा बस्ने ३० वर्षका भरतकुमार साह पक्राउ परेका थिए ।

गत एक महिनामा धनुषा र महोत्तरी जिल्लामा ८ जना भन्दा बढी चाँदी तस्करलाई पक्राउ गरिएको छ । प्रदेश २ का ८ जिल्लामा मात्रै एकसय भन्दा बढी व्यक्ति चाँदी तस्करीमा संलग्न रहेको बताइएको छ । सो तस्करीमा केही भारतीयहरुपनि रहेका छन् । नेपालवाट भारततर्फ चाँदी लैजादा एककिलोमा करिब ३ हजार रुपैयाँ आम्दानी हुने भएकाले यसमा युवाहरु संलग्न हुने गरेको पाइएको छ । खुल्ला सीमानाका कारण जो कोहीपनि नेपाल भारत आवतजावत गर्न सक्छन । त्यसका लागि कुनै निश्चित बाटो छैन । जहाँबाट पनि छिर्न सक्ने भएकाले तस्करी नियन्त्रण प्रहरीका लागि समस्या भएको छ ।

Featured