देश

अरुलाई होइन म जनतालाई सुन्छु : ईश्वर पोखरेल

काठमाडौं, असोज ११–उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै निराश नहुन आग्रह गरेका छन् । शनिबार लाजिम्पाटस्थित खलंगा नर्सरीमा विजया दशमी, दीपावली, नेपाल संवत ११४०, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताए ।

नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उनले आह्वान पनि गरे । ‘हामी निकै जटिल घडीमा छौं,’ उनले भने, ‘लामो समयदेखि गरिएको अभ्यास र पालिएको प्रवृत्तिलाई परिवर्तन गर्दै नयाँ प्रणाली स्थापित गराउने प्रयासमा छौं । यसले केही अलमलको अवस्था बनेको सत्य हो । तर, सरकार सधैं अलमलिदैन । जनताले निराश हुनुपर्ने अवस्था आएको छैन ।’

उनले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बाहानाबाजी गर्न नहुने बताए । ‘जनप्रतिनिधि जनताले बनाएका हुन्,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सिधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहलकदमी लिन्छु ।’

Featured